बाबुराम भट्टराई भन्छन्, ‘पुँजीवाद र साम्यवादको विकल्प आवश्यक’

धनकुटा, माघ १८ । नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विश्वबाटै पुँजीवाद र साम्यवाद दुवै शक्ति संकटमा पर्दै गएकोले नेपालबाट नयाँ मोडलको शक्ति शुरुवात हुने दाबी गरेका छन् ।

पुँजीवादी र साम्यवादी धारको विकल्पको रुपमा अघि सारिएको मानवतावाद र भातृत्ववादसहितको विचारलाई आफ्नो पार्टीले नयाँ मोडलको रुप दिने भट्टराईको दाबी थियो ।

नयाँशक्ति पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राका क्रममा धनकुटा पुगेका भट्टराईले शुक्रबार धनकुटामा आयोजित पत्रकार भेलामा उक्त कुरा बताएका हुन् ।

‘हामी पुँजीवादी र साम्यवादी दुवैभन्दा माथि उठेको विचार नेपालबाट अघि सार्दै छौं’ भट्टराईले भने, ‘यो हाम्रो दुस्साहस हो, तर सफल हुने विश्वास छ ।’

पछिल्लो समय राजनीतिक दल र नेताप्रति वितृष्णा जाग्दै गएकोले आम नागरिकको भावना समेट्ने विचार जन्मन जरुरी रहेको उनको तर्क थियो । लोकतन्त्र, दलतन्त्र हुँदै आसेपासेतन्त्रको रुपमा सीमित बनेको भन्दै उनले जनता मालिक हुन् भन्ने बिर्सिएर सत्ता मोहमा आश लाग्दा राजनीतिक पार्टीले समेत जनतालाई धोका दिएको उनको आरोप थियो ।

धेरै राजा भए भनेर फेरि राजतन्त्र आवश्यक ठान्नु समाधान नहुने भन्दै भट्टराईले गल्ती गर्नेप्रति खबरदारी जरुरी रहेको टिप्पणी गरे । फरक प्रसंगमा उनले चिकित्सा शिक्षाबारे आमरण अनसन बसेका गोविन्द केसीको माग जायज भएपनि असान्दर्भिक माग घुसाएर समस्यामा पार्ने काम भएको बताए । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!