डोटीमा महिनावारी भएकी महिलाको निस्सासिएर मृत्यु  

डोटी, माघ १८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका-५ काडामाण्डौमा एक युवतीको कोठामा निस्सासिएर मृत्यु भएको छ । २१ वर्षीया ती युवतीको बुधबार राति छाउपडी महिला सुत्ने कोठामा निस्सासिएर मृत्यु भएको हुनसक्ने गाउँपालिका अध्यक्ष दिर्घ बोगटीले बताए ।

महिनावारी भएको पाचौं दिन घरको तल्लो तलामा उनी आगो बालेर सुतेकी थिइन् । ‘बिहान छिमेकीहरुले ढोका खोल्दा मृत फेला परिन्, उनका जेठाजु तथा वडाका सहलेखापाल भिम बोगटीले भने, ‘पहिले हाम्रो खाना पकाउने भान्सा थियो, घरमा कोही नहुँदा त्यहाँ महिनावारी भएका महिला सुत्ने कोठा बनाइएको थियो ।’ आगोको तुवालोले निस्सासिएर मृत्यु भएको हुन सक्ने उनको अनुमान छ ।

प्रहरी नायव उपरिक्षक लाल बहादुर धामीले कोठामा आगो बलेको र खुट्टा जलेको अवस्थामा उनी मृत फेला परेको बताए । मृतकको शव पोष्टमार्टमका लागि बिहीबार साँझ सदरमुकाम ल्याएपछि मात्र घटना बाहिर सार्वजनिक भएको थिए ।

कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोको तुवालोले निस्सासिएर मृत्यु भएको हुन सक्ने गाउँपालिका अध्यक्ष बोगटीको अनुमान छ । अध्यक्ष बोगटीकै गाउँमा सो घटना भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!