टिचिङ अस्पतालमैं डा. केसीकाे बिराेध, चिकित्सक संघद्वारा भने अान्दाेलनमा उत्रिने चेतावनी

काठमाडौँ, माघ १८ गते । पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा. गोविन्द केसीले अवरोध पु¥याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अनसन र अबरोधबाट अस्पतालको सेवा र प्रतिष्ठामाथिनै प्रश्न उठ्न थालेको उनीहरुको धारणा छ । 

त्रिवि शिक्षण अस्पतालका चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, नर्सलगायतले डा. केसीको अनशनले सेवा प्रवाहमा अवरोध आई बिरामीहरू निजी क्षेत्रको अस्पतालमा जान बाध्य भएको बताउनुभएको छ । 

त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा. प्रदीप ज्ञवालीले डा. केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताउनुभयो । 

उहाँले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताउनुभयो । हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिवि अन्र्तगतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताउनुभयो ।
उहाँले अस्पताल परिसरभित्र कुनै पनि अनशन हुनु दुर्भाग्य भएको भन्दै अस्पताल बाहिर गएर रिले अनसन गर्न नेपाल चिकित्सक संघलाई अनुरोध गर्नुभयो । 
उहाँले अस्पताललाई अनशन तथा हड्तालमुक्त क्षेत्र बनाउनुपर्नेमा जोडदिँदै अस्पतालभित्र भइरहेको अनशनले आम सर्वसाधरण उपचार नपाएर निजी स्वास्थ्य संस्थामा जानुपरेको बताउनुभयो । 
उहाँले चिकित्सा शिक्षा सुधारका लागि सुरुका अनशनमा डा. केसीलाई आफ्नो पनि साथ रहेको भन्दै पछिल्ला अनशनहरु राजनीतिक रूपमा प्रेरित हुन थालेकाले आफूहरु विरुद्धमा उत्रनुपरेको बताउनुभयो ।
डा. ज्ञवालीले चिकित्सकहरुको पेशागत संस्था मानिएको नेपाल चिकित्सक संघमा चरम राजनीति भएको आरोप लगाउनुभयो । 
उहाँले २० हजार चिकित्सकमा पाँच हजार मात्र संघ अन्तर्गत रहेको भन्दै संघले अस्पताल बन्द गर्ने, अबरोध गर्नेजस्ता आन्दोलन जारी राखे संघ फुट्नसक्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा पूर्व सहायक डिन प्रा.डा. रतिन्द्र श्रेष्ठले अस्पताल राजनीतिक गर्ने स्थल बन्न नहुने बताउनुभयो । 
उहाँले सरकारले चिकित्सा शिक्षा विधेयकमा केसीका सम्र्पूण माग पूरा गरे पनि केसीले राजनीतिक मुद्धा उठाएर राजनीतिक गोटी बन्नुभएको बताउनुभयो । 

क्याम्पसका पूर्व प्रमुख प्रा.डा. रामप्रसाद उप्रेतीले एकजना व्यक्तिको लागि सयौ बिरामीहरूलाई मर्का परेको बताउनुभयो । 
उहाँले चिकित्सा क्षेत्रका मागसँगै डा. केसीले राजनीतिक माग अगाडि सार्नुले उहाँमाथि शंका व्यक्त गर्ने प्रशस्त ठाँउ रहेको बताउनुभयो । 

यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको जीवन रक्षाका लागि भन्दै शुक्रबार देशभरका अस्पताल आकस्मिक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । अनशनको २३ दिनसम्म सरकारले डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेको भन्दै संघले सरकारलाई दबाब दिन आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले केसीको माग पुरा नगरे अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिनुभयो । 

डा. श्रेष्ठले बन्दमा सरकारी, गैरसरकारी, निजी तथा मेडिकल कलेजका आकस्मिक बाहेकका कुनै पनि सेवा सञ्चालन नहुने
बताउनुभयो । 

यसअघि संघले डा. केसीको जीवन रक्षाका लागि भन्दै तीन दिन अघि त्रिवि शिक्षण अस्पताल परिसर देशभरका आफ्ना शाखा कार्यालयमा रिले अनशन सुरु गरेको थियो ।

– अाजकाे गाेरखापत्र दैनिकमा सराेज ढुङ्गेलकाे समाचार प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!