पाकिस्तानले दिएको निम्तो अस्ट्रेलियाद्वारा अस्वीकार

एजेन्सी । अस्ट्रेलियाले यो वर्ष पाकिस्तानमा कुनै पनि खेल नखेल्ने भएको छ । उसले सुरक्षाको कारण देखाउँदै पाकिस्तानी भूमिमा खेल्न अस्वीकार गरेको हो।

क्रिकेट अस्ट्रेलियालाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो भूमिमा क्रिकेट खेल्न प्रस्ताव गरेको थियो । उसले दुई एक दिवसीय खेल घरेलु मैदानमा खेल्ने प्रस्ताव अस्ट्रेलियालाई राखेको थियो ।

युएईमा प्रस्तावित अस्ट्रेलिया र पाकिस्तानबीच हुने पाँच एक दिवसीय खेलमध्ये दुई खेल पाकिस्तानमा खेल्ने प्रस्ताव पीसीबीले क्रिकेट अस्ट्रेलियालाई राखेको थियो। यो सिरिज आगामी सेप्टेम्बर र अक्टोबरमा हुनेछ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अस्ट्रेलिया पनि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको आवागमन चाहन्छ तर तत्कालिन समयमा खेलाडीको सुरक्षाभन्दा ठूलो केही नभएको भन्दै उसले तत्काल पाकिस्तानमा खेल्न जान अस्वीकार गरेको हो। यद्यपि उसले आगामी दिनमा सुरक्षाको दरिलो विश्वास भएपछि पाकिस्तानमै सिरिज खेल्ने बचन दिएको छ।

अस्ट्रेलियाले सन् १९९८ यता कुनै पनि सिरिज खेलेको छैन । यसैबीच पाकिस्तानले अस्ट्रेलिया र न्यूजिल्याण्डलाई टी २० म्याच पनि पाकिस्तानमा खेल्न प्रस्ताव गरेको थियो।

पछिल्लो समय पाकिस्तानमा गएर जिम्बाम्बे, श्रीलंका र वेस्टइण्डीजले प्रतियोगिता खेलेका छन्। सन् २००९ मा खेलाडीमाथि आतंककारी आक्रमण भएसँगै पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको थिएन।

कमेन्ट गर्नुहोस्