नेपाली भूमिमा भारतीय प्रचार बोर्ड झुन्ड्याएर धमाधम काम हुँदै

लुम्बिनी, पुष २९ । लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएका बोर्ड झुन्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १ सय ६० वाई, १ सय ६० मिटर जग्गामा रहेको निर्माणस्थल अगाडि नै बोर्ड राखिएको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा मन्दिर निर्माण भइरहेको छ । तर, बोर्डमा भारतीय झन्डासहित ठेगाना पनि भारत नै लेखिएको छ । सोक्यो कोअपरेसन ट्रस्ट लेखिएको बोर्डमा जापान र भारतको संयुक्त झन्डा छ । ६ महिनादेखि झुन्डयाइएको बोर्डमा ककरहवा, सिद्धार्थनगर यूपी उल्लेख छ ।

सार्वजनिक रूपमा राखेको राष्ट्रियताविरोधी बोर्ड कोष कर्मचारीले हटाउन नसक्नु उसको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । लुम्बिनीमा ६ सुरक्षा दस्ता परिचालित छन् ।

नेपाल, सशस्त्र, दंगा र पर्यटक प्रहरी । त्यसमाथि लुम्बिनी विकास कोष र वीर गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीसमेत गरी २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । तर, कसैले पनि भारतीय बोर्ड हटाउनेतर्फ ध्यान नदिँदा शंका उब्जिएको छ । कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!