पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छः मन्त्री विष्ट

पोखरा, पुस पुष २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने बताएका छन् । आज (बिहीबार) गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे ।

उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौं जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए ।

मन्त्री बिष्टले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए ।

उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्