१२ उत्तीर्ण गर्न नसके सुविधाबाट वञ्चित

रोल्पा, पुस २६ । रोल्पाको सुनिल स्मृति गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई सेवा सुविधा रोक्का गर्ने भएको छ । शैक्षिक वातावरण राम्रै भएपनि विभिन्न बहानामा पढाई छोड्ने क्रम बढ्न थालेपछि यसप्रकारको योजना बनाइएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

महत्वकांक्षी योजनाः गाउँपालिका अध्यक्ष गुणेन्द्रले भने सबैको साथ भएमा योजना सफल हुने विश्वास व्यक्त गरे । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई १२ सम्म गाउँपालिकाले पढाउने योजना समेत अघि सारेका घर्तीले चुनौती चिरेर मात्रै गुणस्तर शिक्षा प्रवाह गर्न सकिने बताए । ‘पढ्ने लेख्ने वातावरण छैन वा आर्थिक अवस्था कमजोर छ भने स्थानीय सरकारलाई भन्नुस्,’ अध्यक्ष घर्तीले भने, ‘तर विद्यालय छोड्ने अधिकार कसैलाई छैन ।’

उसो त हरेक वडामा १२ सम्मको विद्यालय अनिवार्य गराउने निर्णय पनि गरेको छ । गाउँपालिकामा एक क्याम्पसको प्रक्रिया जारी रहेका गाउँपािलकाले जनाएको छ ।

‘गाउँपालिकामा भएकै भौतिक संरचनालाई उपयोग गरेर शैक्षिक गुणस्तर सुधार्छौं, यो हाम्रो प्रतिवद्धता हो’ गुणेन्द्रले भने । पढ्नुको विकल्प नरहेको भन्दै गाउँपालिकाले बुद्धबुद्धालाई समेत पठनपाठनको व्यवस्था गर्ने जनाएको छ । अहिलेसम्म सडक र भौतिक संरचनालाई मात्र विकास मान्ने प्रवृत्ति परिवर्तन गर्ने भन्दै अध्यक्ष घर्तीले शिक्षामै लगानी गर्ने बताए ।

उता समाजसेवी रितमान पुन भने गाउँपालिकाको यो योजना ठिक नभएको बताउँछन् । विद्यालय छाड्ने कारण धेरै हुने भएकाले विद्यालय छाड्दैमा एकैचोटी सेवासुविधा रोक्का गर्नेसम्मको सजाय दिनु उपयुक्त नभएको उनको तर्क छ । लगत संकलन गरेर र बालबालिकालाई केही प्याकेज दिएर भएपनि विद्यालयसम्म पुर्याउने योजना निर्माण गर्नुपर्ने उनी बताउँछन् । नयाँपत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!