सिंहदरबारको सुन्दरता र हरिभरा बनाउनका लागि यस्तो तयारी हुँदै

काठमाडौँ, पुस २६ । सिंहदरबारलाई सुन्दर बनाउने अभियान जारी छ । मुलुकको मुख्य प्रशासनिक केन्द्रबिन्दु सिँदरबारलाई व्यवस्थित बनाई नमुनायोग्य बनाउन थालेका प्रयासहरू सार्थक हुँदै छन् ।

देशको प्रमुख प्रशासनिक निकाय हरेक हिसाबले नमुनायोग्य हुनुपर्ने भएपनि चारैतिर अस्तव्यस्त, फोहोर तथा कार्यालय वरिपरि थुपारिएका थोत्रा सवारीले कुनै कवाडीखानामा पुगेजस्तै लाग्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदैछ । सिंहदरबारका कुनाकाप्चासम्मै पुगेर फोहोर उठाइँदै छ र ती ठाउँहरूलाई बगैँचा बनाई फलफुलका बोटहरू रोपिँदै छ ।

सिंहदरबार परिसर व्यवस्थापन सम्बन्धमा मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भदौ ३१ बसेको बैठकले गरेका विभिन्न २६ बुँदे निर्णयसँगै सिंहदरबार सफाई योजनाले तिव्रता पाएको हो ।

बैठकले गरेको निर्णयको बुँदा नं.२३ मा सिंहदरबार परिसरको शहरी विकास मन्त्रालय मार्फत अनुगमन गर्ने व्यवस्था मिलाउने र सोको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिवको संयोजकत्वमा सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख, उक्त कार्यालयका सिडिई, सहरी विकास मन्त्रालयका उपसचिव (प्रशासन), शहरी विकास तथा भवन निर्माण विभागका सीडीई सदस्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहेको ‘सिंहदरवार परिसर अनुगमन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितिले कार्तिकदेखि प्रत्येक महिनाको पहिलो शुक्रबार सिंहदरवार परिसरको अनुगमन गर्दै आएको छ ।

देशको कार्यकारी प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मको कार्यालय यही परिसरमा रहँदै आएको भए पनि सिंहदरबारभित्रको फोहोरमैला व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा कसैको चासो पुगेको थिएन ।

सिंहदरबारप्रतिको आम मानिसको चाहना र सोचसहित जथाभाबी फालिएका फोहोर तथा काठ र भूकम्पले भत्किएको संरचनाले यहाँको सौदर्यता बिगारेको बारे प्रशासन डटकमले निरन्तर समाचार लेखेको थियो ।

यससँगै तत्कालीन सिंहदरबार सचिवालय पुनर्निर्माण सचिवालय समितिले फोहोर व्यवस्थापनमा चासो देखाएको थियो ।

सिंहदरबारभित्रको वास्तविकतामा निरन्तर फलोअपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरवारलाई सुन्दर बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यससँगै प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्त्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा गठित सिंहदरबार परिसर अनुगमन समितिले भत्केका संरचना र फोहोरका थुप्रो उठाउने तथा बगैँचा व्यवस्थापनबाट कार्य थालनी गरेको थियो ।

सिंहदरबारलाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउने योजनाअनुसार प्रत्येक मन्त्रालयलाई जिम्मेवार बनाइ पनि स्वस्फूर्तरुपमा अग्रसर नभएको देखिएपछि पुनः समितिका संयोजक कुँवर आफैं अग्रसर भएर उनको संयोजकत्वमा गठित टिमलाई सक्रिय बनाई हरेक दिन बिहान ७ बजेदेखि नै सरसफाइमा जुट्न सुरु भएको छ ।

प्रत्येक दिन दुईवटा मन्त्रालय परिसरमा भएको फोहोर उठाई पानीको फोहोराबाट सफा गर्ने काम जारी रहँदा बुधवार अबेर मुख्य सचिवको संयोजकत्वमा सिँहदरवार परिसरको सरसफाइ व्यवस्थापन, सवारी साधन व्यवस्थापन, सौदर्यीकरण तथा हरियाली व्यवस्थापनलगायत त्यो सम्बन्धित सरोकारवाला मन्त्रालयका सचिवहरूको बैठकले थप ११ वटा निर्णय गरेको छ ।

जसमा पहिलो बैठकले गरेका २६ वटा निर्णयहरूमा नै केन्द्रित हुँदै जिम्मेवार निकाय तथा पदाधिकारी, सहयोगी निकाय, अनुगमन गर्ने निकाय र पदाधिकारी र समय सीमासहित तोकेको छ ।

बैठकमा समितिको अभियानलाई निरन्तरता दिने सम्बन्धमा आ–आफ्नो तर्फबाट सहयोग गर्ने सचिवले प्रतिबद्धता व्यक्त गरेका छन् भने मुख्यसचिवले अभियानलाई निरन्तरता दिन पूर्ण सहयोग रहने बताएका छन् ।

हेर्नुहोस निर्णय–

काठमाडौंको मध्यभागमा अवस्थित सिंहदरबार परिसरभित्र हालको प्राकृतिक सुन्दरतालाई कायम राख्दै मानवीय लापरबाहीका कारण बन्न पुगेको कुरुपतालाई हटाउने हो भने साच्चिकै सिंहदरबार निकै सुन्दर र मनमोहक हुन धेरै समय लाग्ने छैन ।

प्रशासनबाट

कमेन्ट गर्नुहोस्