नेकपा नेता श्रेष्ठ भन्छन्, ‘पाँच वर्ष ओली नै प्रधानमन्त्री बन्नुहुन्छ’

सिरहा, पुष २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले केपी ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् ।

सिरहाको कर्जन्हामा कम्युनिष्ट नेता जयगोविन्द साहको २९औं स्मृतिसभामा नेता श्रेष्ठले सरकार परिवर्तनको हल्ला निराधार रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । केपी ओलीले नै वर्तमान सरकारको पाँच वर्ष नेतृत्व गर्ने उनको भनाइ छ ।

‘नेताहरुबीचको मतभेदका कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको होला’, उनले भने, ‘तर, सरकार परिवर्तन हुँदैन, परिवर्तनको कुनै सम्भावना छैन ।’

सरकारको कामकारबाहीमा शतप्रतिशत सन्तुष्टि हुन नसकिने स्वीकार गर्दै श्रेष्ठले तर, सरकार गलत बाटोमा नरहेको जिकिर गरे । श्रेष्ठले दुई तिहाइको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । वर्तमान सरकार असफल हुँदा परिवर्तनको प्रक्रिया नै असफल हुने र राष्ट्रियता कमजोर हुने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्