डा. गोविन्द केसी भोलिदेखि अनशन बस्ने

इलाम, पुष २४ । डा. गोविन्द केसीले भोलिदेखि इलाममा अनशन शुरु गर्ने चेतावनी दिएका छन् ।

सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

उनले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए ।

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए ।

यो अवधिमा पनि माग पूरा नभएको भन्दै पुनः सत्याग्रहका लागि उनी आजै इलाम आएका हुन् । डा. केसी लामो समयदेखि स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत छन् ।

कमेन्ट गर्नुहोस्