यो वर्षको आइपीएल मार्च २३ देखि, प्रतियोगिता भारतमै हुने

दिल्ली, पुष २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी संस्करण मार्च २३ तारिखबाट भारतमै हुने भएको छ । इन्डीयन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार प्रेस विज्ञप्तिमार्फत आईपीएलको मिति सार्वजनिक गरेको हो ।

बीसीसीआईले आईपीएल भारतमै आयोजना गर्ने पनि निश्चित गरेको छ । यसअघि पूर्वघोषित आम निर्वाचनको मितीसँग जुध्ने भएका कारण आईपीएल फेरि भारत बाहिर हुने सम्भावना बढेको थियो ।

भारतमा आगामी अप्रिल र मेमा आम निर्वाचन हुने जनाइएको छ । यस अघि सन् २००९ र २०१४ मा आम निर्वाचनसँग मिती जुध्दा आइपीएल क्रमसः दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो ।

बीसीसीआईले राज्य र संघिय सरकारका अधिकारीसँग छलफल गरी प्रतियोगिता मार्चमा भारतमै आयोजना गर्ने निर्णय गरिएको जनाएको छ।

बीसीसीआईले आईपीएलको नयाँ मिती र हुने स्थानको बारेमा प्रतियोगितामा सहभागी हुने सबै टोलीहरूबाट मञ्जुरी समेत प्राप्त भईसकेको जनाएको छ । आईपीएलको यो संस्करणमा पनि नेपाली स्पिन स्टार सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।

कमेन्ट गर्नुहोस्