कल्भर्ट निर्माणको विरोधमा स्थानीय

धनगढी, पुस २४ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका स्थानीय कल्भर्ट निर्माणको विरोधमा उत्रिएका छन् ।

निर्माणाधीन छ लेनको सडकको मोहनापुलदेखि अत्तरियासम्मको खण्डमा निर्माण गर्न थालिएको कल्भर्ट पानीको निकास नै नभएको ठाउँमा हालिन थालेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

स्थानीयहरूका अनुसार यसरी कल्भर्ट बनाउँदा आसपासका घरहरूमा पानि पस्ने सम्भावना रहेको छ । उनीहरूले पानीको निकास नै नभएको ठाउँमा कल्भर्ट नबनाउन माग गरिरहेका छन् ।

मोहनापुल देखि अत्तरियासम्म निर्माण भइरहेको ६ लेन सडकमा पानी निकासका लागि २२ वटा कल्भर्ट निर्माण गरिँदैछ तर कल्भर्टको दुवैतिर घर भएकाले पानीको निकास भने छैन ।

नाला नै नरहेको ठाउँमा कल्भर्ट निर्माण गर्नु उचित नभएको भन्दै स्थानीयले आवाज उठाइरहेका छन् ।

तर सम्बन्धित पक्षले यसप्रति कुनै वास्ता नै नगरेको स्थानियको गुनासो छ ।

धनगढी उपमहानगरपालिका–१३ की स्थानीयवासी लक्ष्मी भट्ट निर्माण भईरहेको कल्भर्टमा पानी निकासको ठाउँ नभएकाले वर्षायाममा घर डुब्ने चिन्ता लागेको बताउँछिन् ।

उता, आयोजनाले भने यसमा नापी कार्यालय नै दोषी रहेको भन्दै आफ्नो बचाउ गरेको छ ।

आयोजनाका सब–इञ्जिनियर भूपेन्द्र बडालले आफूहरुले पहिले कल्भर्ट रहेकै ठाउँमा बनाउन थालेको बताए ।

१० पटकसम्म नापी कार्यालयलाई पत्राचार गरेपनि कुनै जवाफ नआएकाले काम जारी राखेको सव–इञ्जिनीयर बडालको भनाइ छ । इमेजखबरबाट

 

कमेन्ट गर्नुहोस्