२.० बाहुबली- २ भन्दा कति कमजोर, कति बलियो ?

दक्षिण भारतीय सुपर स्टार रजनीकान्त, बलिउडका एक्सन किङ्ग भनिने अक्षय कुमार र एमी ज्याक्सन लगायतको अभिनय रहेको बहुप्रतीक्षित भारतीय चलचित्र २.० ले तीन दिनमा संसाभरिबाट लगभग दुईसय करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

यो आफैंमा एउटा रेकर्ड हो र सामान्य भारतीय फिल्मका लागि निकै ठुलो कमाइ । तर रजनीकान्तको जबर्जस्त फ्यान फोलोइङ, प्रिक्वेल ‘रोबोट’को सफलताको उत्तराधिकार, सर्वाधिक बजेट, सर्वाधिक प्रि-बुकिङ र ब्लकबस्टर निर्देशक शंकरको निर्देशन जस्ता भीमकाय आँकडा भएका बेला यसबाट अझ ठुलो आशा भने नगरिएको होइन ।

तोड्न मुश्किल रेकर्ड

खास गरि फिल्मलाई भारतीय सिनेमाको सर्वाधिक सफल फिल्म बाहुबली- २ को रेकर्ड ध्वस्त पार्न सक्ने भनेर हेरिएको थियो तर फिल्मको तीन दिनको प्रदर्शन हेर्दा यो सम्भव देखिन्न ।

यसले बक्स अफिसमा तीन दिन पुरा गरिसकेको छ र यसप्रति दर्शकहरूको प्रतिक्रिया पनि सकारात्मक रहेको छ । सबैभन्दा राम्रो कुरा त के भने पछि यसको तेस्रो दिनको कमाई दोस्रो दिनको भन्दा बढी रहेको छ । चौथो दिन आइतबार भारतभरि विदा हुने भएकाले फिल्मले निकै ठुलो कमाइ गर्न सक्ने अनुमान गरिएको छ ।

२.० रजनीकान्त र अक्षय कुमार लगायत यस चलचित्रमा संलग्नहरूको क्यारियरकै सर्वाधिक सफल चलचित्र बन्ने सम्भावना निकै छ । तर जहाँसम्म एसएस राजामौलीको चमत्कारिक निर्देशन ‘बाहुबली- २’को कुरा छ, आँकडाहरूले यस फिल्मलाई अझै केही वर्षका लागि पार गर्ने नसकिने उचाइमा उभ्याई दिएका छन् ।

हुन त यस फिल्मप्रति बजारले देखाएको प्रतिक्रिया बाहुबली- २ को भन्दा फरक छैन । रिलिज भएको तीन दिनमा नै यो भारत पाकिस्तान लगायतका सात देशहरूका बक्स अफिसमा कमाइको मामिलामा सबैभन्दा माथि रहेको छ ।

दुई फिल्मको प्रारम्भिक तुलना

दुबै चलचित्र बिदा नपरेको दिन रिलिज भएका हुन् । यसरी हेर्दा बिदाबाट हुने अतिरिक्त फाइदा कसैले उठाउन पाएनन् । यति हुँदा हुँदै पनि २.० ले सबै संस्करणहरूबाट भारतबाट  एक सय ३५ करोड भारु कमाइ सकेको छ । यसको हिन्दी संसकरणको मात्रै कमाई पनि ६३ करोड भारु रहेको बताइन्छ । यो निकै ठुलो रकम भए पनि बाहुबली- २ को तुलनामा भने फिल्म निकै पछाडि रहेको तथ्यहरूले देखाउँछन् ।

बाहुबली- २ ले रिलिजको पहिलो दिनमै १२६ करोडको रेकर्ड कलेक्शन गरेको थियो । र तीन दिनमा यसले ३०२ करोड भारुको अप्रत्याशित कमाइ गरेको थियो ।

यसको हिन्दी संस्करणले मात्र पहिलो तीन दिनमा १२८ करोड कमाएर बनाएको कीर्तिमान अझै यथावत छ ।

यो सबैभन्दा बढी कमाइ गर्ने भारतीय फिल्मका साथै सबै भन्दा बढी कमाउने हिन्दी फिल्मका रूओप्मा समेत स्थापित छ । आफ्नो प्रदर्शन अवधिका क्रममा यसले हिन्दी संसकरणबाट मात्र ५११ करोड कमाएको थियो । जुन सर्वाधिक कमाउने बलिउड फिल्म दङ्गल (३८७ करोड) भन्दा निकै माथि हो ।

सुरुका आँकडाहरूलाई मद्देनजर गर्ने हो भने २.० बाहुबली- २ बाट निकै पछाडि रहेको मान्न सकिन्छ । यसको हिन्दी या अन्य सबै संस्करणको प्रदर्शन निकै पछाडि रहेकाले अब कुनै जादूले मात्र यस चलचित्रलाई बाहुबली- २ को रेकर्ड तोड्न सक्ने अवस्थामा पुऱ्याउन सक्ने देखिन्छ ।

प्रदर्शन अवधिभरि भारतबाट १ हजार ४ सय ३० करोड कमाएको बाहुबली- २ सम्म पुग्न यस चलचित्रलाई हम्मे हम्मे पर्ने देखिन थालेको भए पनि यसको कमाईमा लगातार शनिबार भएको वृद्धिले यो चलचित्रले सजिलै आफ्नो लगानी उठाउने र भारतीय सिनेमा बजारमा नयाँ मानक स्थापित गर्ने भने पक्कापक्की छ ।

किन भएको होला यस्तो ?

केही दिन अगाडि मात्र बलिउडमा बाहुबली- २ कै सफलता दोहोऱ्याउने आशाका साथ ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको थियो । सुरुकै दिनमा रेकर्ड कमाई गर्न सफल भए पनि कमजोर कथावस्तुका कारण यो फिल्मले सप्ताहान्तको बिदा पछि पानी समेत मागेन र घरेलु बक्स अफिसबाट लगानी समेत उठाउन सकेन ।

कथानक र प्रस्तुतीकरणमा नवीनता भए पनि हलिउडका ‘विज्ञान-कथा’मा आधारित चलचित्र हेर्ने बानी परेका दर्शकले यस चलचित्रमा भारतीय परिवेश बाहेक अरु केही नौलो भेटाउन्न । यसले दर्शकलाई बारम्बार सिनेमा हल आउन उत्प्रेरित गर्न सक्दैन ।

अर्को कुरा यसको कथानकको जटिलता हो । यस चलचित्रमा प्रविधि र प्रकृतिको द्वन्द्व प्रदर्शित गरिएको छ । यो भारतीय दर्शकहरूका लागि नितान्त नौलो विषय हो । यसको जरोकिलो बुझ्न प्रविधि मैत्री हुनु आवश्यक छ । नत्र यो विज्ञान-स्वैर कल्पना वाहियात लाग्न सक्छ ।

उता बाहुबलीको कथानक भारतीय समाजमा प्रचलित परम्परागत द्वन्द्वकै फरक प्रस्तुतीकरण मात्र थियो । महाभारतको जस्तै परिवार भित्रको शक्ति संघर्षलाई काल्पनिक देश माहिष्मतीमा घटाएर लेखक फरक संसारको सिर्जना गर्न सफल भए भने यसलाई निर्देशकले सफलता पूर्वक पर्दामा उतारे । दर्शकहरूको मनमा भिजेकै कथानक भएकाले यो ल्कथा सजिलै बुझ्न सकिने खालको रह्यो र यसलाई मानिसहरूले सहजै स्वीकार गरिदिए ।

तर सदैब नयाँ नयाँ प्रयोग गर्न खप्पिस निर्देशक शंकर र रजनीकान्तको भव्य स्टारडमले यो फिल्मले निकै ठुलो रकम थुपार्नेमा चाहिं शंका छैन ।

कमेन्ट गर्नुहोस्