अब गाईको पनि जन्म-मृत्यु र बसाइ-सरार्इ दर्ता, किसानलाई भत्ता !

रुपन्देही, कार्तिक २३ । जिल्लको तिलोत्तमा नगरपालिकामा गाईको पनि जन्म, बसार्इ सरार्इ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । त्यतिमात्र होइन, गाईको जन्म, बसार्इ सरार्इ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्तासमेत पाउँछन् । तिलोत्तमा नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो ।

गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चसमेत उपलब्ध गराउने नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने सोच नगरपालिकाले बनाएको उनले बताए ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने परिपाटीले हैरान भएपछि नगरसभाको बैठकबाटै यस्तो नीति लिइएको हो ।

अब नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ । तिलोत्तमामा व्यवसायीक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ । गाईको दर्ता गरेपछि छाडा छाड्न नदिन सम्भावित नाकाहरुमा नगर प्रहरी परिचालन गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: