दशैँ-दीपावलीको गजल (भिडियो सहित)

भुवन निस्तेज 

दशैँ दीपावली यस्तो गजबले आइरा’को छ,

‘भुवन’ आफ्ना पुराना बूट नै चम्काइरा’को छ ।

 

बिहानैदेखि मन यो त्यत्तिकै झोक्राइरा’को छ,

खुशीको तिर्सना गोरु बनाई दाइरा’को छ ।

 

महङ्गाई बढी रा’को छ जो सुरसाको मुख जस्तै,

ऊ भोटो किन्न गा’को थ्यो बटन पो ल्याइरा’को छ ।

 

थियो सल्लाह डाक्टरको ‘लिनू रे पोसिलो खाना!’

यहाँ माँडै नपाई पेट गाना गाइरा’को छ ।

 

हरेक अनुहार उसले साहु जी झैं देख्छ रे किन कि,

उधारोको पुरानै भूतले तर्साइरा’को छ ।

 

ऊ रैतीबाट जनता भो, नयाँ के भो सबै उस्तै,

ऊ धोका पाउने गर्थ्यो, ऊ ढोका पाइरा’को छ ।

 

कुनै अखबारमा जागिरको विज्ञापन पो आयो कि,

हरेक दिन पत्रिका बेच्ने कहाँ ऊ धाइरा’को छ ।

 

दशैँ आएछ भन्दै हलुकिँदै गा’को छ गोजी या,

भुवन निस्तेज हो भन्ने कुरा सम्झाइरा’को छ ।

 

हेर्नुस् भिडियो:

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  किन गरिन्छ नेवार समुदायमा छोरीको तीन पटक विवाह ?
%d bloggers like this: