चार महिनाको तलब नपाउँदा कर्मचारीको बिजोग

काठमाडौं, कार्तिक १८ । संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । दसैं–तिहारमा समेत तलब नपाउँदा घर–व्यवहारमै समस्या आएको कर्मचारीले बताएका छन् ।

 

वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए। बजेट भाषणमै तलबका लागि रकम निर्धारित भइसके पनि सरकारी अनुदारताका कारण कर्मचारीले तलब नपाएको उनले बताए।

 

विराटनगरको श्रम तथा रोजगार कार्यालय, महोत्तरीको वन सबडिभिजन कार्यालय र कावासोती नगरपालिकाको वन तथा कृषि कार्यालयका कर्मचारीले तलब नपाएको समाचार पछिल्लो साता सार्वजनिक भएको छ। पोखरेलले भने, ‘दसैंमा धेरैले तलब पाएका थिएनन्। पछिल्लो समय केही कर्मचारीले तलब पाएको सुनिए पनि धेरै ठाउँमा समस्या छ।’

 

सरकारले साउन १ देखि जिल्लाका धेरैजसो सरकारी कार्यालय विघटन र कतिपय प्रदेशलाई हस्तान्तरण गरेको थियो। कागजमा विघटन भइसकेको र व्यवहारमा प्रदेश मातहत नगइसकेकाले कर्मचारी व्यवस्थापनमा समस्या देखिएको हो।

सम्बन्धित् समाचार  कर्मचारीमाथि यस्तो लगाम लाग्दै छ

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले पुराना कार्यालय अस्तित्वमा नरहेको र नयाँ खोल्नुपर्ने कार्यालय खुल्न ढिला भएकाले तलबको समस्या देखिएको बताए । ‘धेरै हदसम्म समस्या समाधान भइसकेको छ, स्थानीय सरकारभन्दा प्रदेशमा खटिएका कर्मचारीको हकमा कतै–कतै समस्या सुनिएको हो,’ उनले भने ‘प्रदेश सरकारले स्वीकृत नयाँ संरचनाअनुसारका कार्यालय खोलेपछि कर्मचारी व्यवस्थापन सहज बन्दै गएको छ।’ उनले तलब नपाउने समस्या करिब ९० प्रतिशत समाधान भइसकेको दाबी गरे। कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: