मेरो सपना भरतपुरलाई समृद्ध र आधुनिक सहर बनाउने हो : रेणु दाहाल

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहाल देशभरिका ५ महानगरमा एक्ली महिला प्रमुख रहेकी छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनी नेपाली कांग्रेसको समर्थनमा निर्वाचित दाहाल माओवादी र एमाले एकतापछि बनेको नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी छन् । महानगरमा दाहाललाई प्रतिपक्षी नै नभएको नगर प्रमुखका रुपमा पनि हेर्ने गरिएको छ । महानगर प्रमुख दाहालसँग उनको १४ महिने कार्यकालमा भएका विकासका काम र हाल सञ्चालित विकासका गतिविधिसँग केन्द्रित रही गरिएको कुराकानी :

० तपाईं महानगरप्रमुखमा निर्वाचित हुँदाको राजनीतिक अवस्था र अहिलेको परिस्थितिमा फरक आएको छ । यसले तपाईंलाई काम गर्न चाहिँ फरक पारेको छ कि छैन ?

काँग्रेसको समर्थनमा मैले चुनाव जितेँ । घटनाक्रमले पछि पार्टी एमालेसँग एकीकरण भई नेकपा बन्यो । काममा सबैको सहयोग पाइरहेकी छु । काम गर्दा जुनसुकै दल, व्यक्ति वा कार्यकर्ता भए पनि फरक रूपमा हेरेकी छैन र महानगरको विकासमा सहयोग पनि लिइरहेकी छु । हामी कुन पार्टीबाट उम्मेदवार बन्यौँ भन्दा पनि निर्वाचित भएपछि के काम गरियो भन्ने कुरा ठूलो हो ।

० सबै पार्टीको सहयोगमा विकासनिर्माणको काम भइरहेको भन्नुहुन्छ तर महानगरकै समीक्षा बैठकमा उपमेयरलगायत केही वडा अध्यक्षले वहिष्कार गरे नि ?

म त्यो कुरातिर जान्नँ । किन उपमेयर आउनुभएन भन्नेतर्फ पनि म लाग्दिनँ । यति भन्छु, समीक्षा बैठक उपमेयरकै सहमतिमा आयोजना गरिएको हो तर उहाँलाई पछि कुन कारण पर्यो बैठकमा अनुपस्थित हुनुपर्ने भन्ने मलाई थाहा भएन । तर, त्यसपछि सबै कुरा एकआपसमा सरसल्लाहमै अगाडि बढिरहेका छन् । अहिले राजनीतिक रङका आधारमा कुनै विवाद छैन ।

० तपार्इं प्रमुखमा निर्वाचित भएपछि महानगरको विकासका लागि के कस्ता कार्यक्रम अगाडि सार्नुभएको छ ?

हामीले चुनावका बेला भनेका थियौँ, सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा केन्द्रीय स्रोत र साधनसँग जोडेर एउटा नमुना सहर बनाउने छौँ । मेरो पहिलो सपना पनि भरतपुरलाई समृद्ध र आधुनिक सहर बनाउने हो । अहिले मेरा योजना यसैमा केन्द्रित छन् । भरतपुरलाई व्यवस्थित सहर बनाउन सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष जोड दिएका छौँ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा अटो र ई–रिक्सा सञ्चालन र व्यवस्थापन गरिएको छ । सडक पेटीमा व्यापार हुँदा सडक दुर्घटनाको जोखिम थियो, त्यो हटाएर फुटपाथ व्यवसायलाई व्यवस्थित बनाएका छौँ । महानगरपालिकामा भित्री र बाहिरी चक्रपथ निर्माणकार्य सुरु भइसकेको छ ।

सम्बन्धित् समाचार  भरतपुरमा प्रचण्डको हातबाट रेणु दाहालले पाइन् सम्मान

सडक निर्माण तथा भौतिक पूर्वाधार विकासका काम महानगरको सापेक्षताअनुसार विकास गर्दै लगिँदैछ । रिङ्गरोड र लिङ्करोड निर्माणको काम सुरु भइसकेको छ । निजी क्षेत्रको सहकार्यमा भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार निर्माण गरी सञ्चालनमा आएको छ । देवघाटमा आधुनिक विद्युतीय शवदाहस्थल बनाउने कार्य अगाडि बढेको छ ।

समग्रमा महानगरले सरकारको अनुदान, सशर्त अनुदान र आन्तरिक स्रोतबाट करिब डेढ अर्ब रुपियाँको लागतमा विकासनिर्माणका योजना अगाडि सारेको छौँ भने करिब चार अर्ब रुपियाँका अन्य सरकारी कार्यालयमार्फत यो महानगरमा योजना सञ्चालनमा रहेका छन् ।

० तपाईंले आफ्ना चुनावी अभियानका बेला जनतामाझ मेट्रो रेल, नारायणी र राप्तीको तटबन्ध, स्मार्ट सिटी जस्ता योजनाका कुरा उठाउनुभएको थियो, ती योजना कहाँ पुर्याउनुभयो ?

हो, चुनावी घोषणापत्रमा महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रीकालीन सेवा गराउने कुरा, नारायणी र राप्तीको तटबन्ध, स्मार्ट सिटीमात्रै होइन भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै महानगरभित्र आफ्नै नगर अस्पताल बनाउने कुरा थिए र भरतपुरमा विकास हुँदै गरेको मेडिकल सिटीलाई व्यवस्थापन गर्दै यसको विकास गरिने भनिएको थियो । पर्यटन विकासलाई टेवा पु¥याउन भ्यु टावर, आधुनिक मनोरञ्जन पार्क, हरेक वडामा बालबगैँचा र उद्यान निर्माणमा जोड दिइने कुरा उठाएका थियौं ।

अहिले हाम्रा योजना यिनैमा केन्द्रित छन् । भरतपुर विमानस्थलको सुधारका लागि कार्ययोजना बनिरहेको छ । नारायणी र राप्ती नदीको तटबन्धसहितका सडक निर्माणको काम अघि बढिसकेको छ । महानगर मात्रै हैन, केन्द्र र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका बजेटसमेत अहिले भरतपुरको विकासमा खर्चिएका छन् । सभागृह र क्रिकेट स्टेडियम बनाउने गृहकार्य सुरु भइसकेका छन् । समग्रमा हामीले जनतामाझ उठाएका योजनाका विषय कार्यान्वयन गर्ने तयारीका क्रममा छौँ । यी सबै योजनाको सम्बोधन हुन्छ ।

सम्बन्धित् समाचार  धर्म र संस्कृतिको संरक्षणले सामाजिक सद्भाव बढ्छ  : प्रमुख रेणु दाहाल

यी त भए दीर्घकालीन योजनाका कुरा । महानगरभित्र तत्काल सुधार गर्ने योजना चाहिँ के के छन् त रु
फोहोरमैला व्यवस्थापनका लागि कोरियाली सरकारसँग सहकार्यमा ल्यान्डफिल्ड साइड निर्माणका लागि सम्झौता भई डीपीआर तयार भइसकेको छ । महानगरको आयस्रोत बढाउन लायन्सचोकस्थित पुरानो तरकारी बजार रहेको स्थानमा बहुतले व्यावसायिक भवन निर्माणको काम अगाडि बढिरहेको छ।

त्यसैगरी व्यवस्थित अटोल्यान्ड निर्माणका लागि निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढाउन छलफल भइरहेको छ । महानगरपालिकाभित्र रहेका दुईवटा बसपार्कको स्तरोन्नतिको काम भइरहेको छ । भरतपुर महानगर वडा नम्बर १९ मा रहेको रानीपोखरी पार्कलाई नमुना बनाउन ठूलो लगानीमा काम सुरु भइसकेको छ ।

नारायणी नदी किनारलाई ‘सिविज’ मोडलका रूपमा विकास गर्न काम अगाडि बढाइएको छ । नगरबासीको प्रमुख चाहना सडक कालोपत्रे भएकाले त्यसलाई प्राथमिकतामा राखी अगाडि बढाइएको छ । वडास्तरमै पार्कहरू बनाउने कुरा अगाडि बढेको छ ।

० महानगरको आयस्रोत बढाउन के गर्दै हुनुहुन्छ ?

महानगरको मुख्य आय भनेको राजस्व र कर सङ्कलन नै हो । यसका लागि निजी क्षेत्रको सहकार्यमा उहाँहरूको पनि केही स्वामित्व रहने गरी कर सङ्कलन अभियानका रूपमा अगाडि बढाएका छौँ ।

भरतपुर महानगरपालिका पर्यटकीय सम्भावनाको मुख्य क्षेत्रभित्र पर्छ । यसको आवश्यक पूर्वाधार निर्माणका लागि तारे होटल बनाउन चाहनेका लागि विभिन्न खाले सहुलियतको व्यवस्था गरिएको छ । जसले महानगरकै आर्थिक विकासमा टेवा पु¥याउने छ ।

० कुनै पनि महानगरको आन्तरिक आयस्रोत करिब एक अर्ब रुपियाँसम्मको बजेट हुनुपर्ने मान्यता छ तर यस महानगरको अवस्थाले यो मापदण्ड पूरा भएको देखिँदैन नि ?

हो मान्यता अनुसार हामीले कर उठाउन सकेका छैनौँ । यो एकैपटक सम्भव पनि छैन । हामी महानगरमा जनप्रतिनिधि भएर आउँदा महानगरको आन्तरिक आय २० करोडको हाराहारीमा थियो । हामी आएपछि यसलाई ३५ करोड पुर्यायौँ । यो वर्ष हामीले ५० करोडको लक्ष्य राखेका छौँ । आगामी केही वर्षभित्रै एक अर्बको अर्थात् महानगरको मापदण्डअनुरूप आन्तरिक स्रोत जुटाउने हाम्रो लक्ष्य छ । सोहीबमोजिम करका दर, दायरा र अन्य स्रोतको खोजी भइरहेको छ ।

सम्बन्धित् समाचार  ‘राष्ट्रवादी एजेण्डा बोकेका कारण अधिकांश क्याम्पसमा हाम्रो जीत सुनिश्चित छ’-नविना

स्थानीय निकायले जथाभावी कर संकलन गरिरहेका छन् भन्ने गुनासो छ । यहाँको अवस्था के हो ?
यहाँ त्यस्तो केही छैन । कर तिर्ने उद्यमी व्यवसायीहरूले हो । सर्वसाधरणले हो । उहाँहरूले भरतपुर महानगरपालिकाको कर प्रणालीको स्वागत गर्नुभएको छ । यसले प्रस्ट पार्छ, भरतपुर महानगरले वैज्ञानिक र व्यावहारिक कर प्रणाली लागू गरेको छ । करका विषयमा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गरेर नै दर र दायराहरू निर्धारण गर्ने गरेका छौँ ।

० तपाईं त्यसो भन्नुहुन्छ तर सिमान्तकृत वर्गका समुदायले महानगरले तोकेको कर कसरी तिर्न सक्लान् त ?

सक्छन् । तिरिरहेका पनि छन् । कर नै तिर्न नसक्ने अति विपन्न समुदायका नागरिकलाई हामीले विशेष छुटको व्यवस्था पनि गरेका छौँ ।

० स्थानीय निकायमा आर्थिक पारदर्शिताका समस्या धेरै छन् भन्ने आइरहेका छन् । भरतपुर महानगरमा सुशासन कायम गर्न तपाईंले के कस्ता कार्ययोजना अगाडि सार्नुभएको छ ?

भरतपुर महानगरपालिकाको पहिलो सर्त सुशासन कायम गर्नु हो । यसका लागि हामीले पारदर्शी खर्च प्रणाली र मितव्ययी प्रशासन अवलम्बन गरेका छौं । राजस्व चुहावटलाई निरुत्साहित गर्न प्रभावकारी अनुगमन प्रणाली अपनाएका छौँ । २९ वटै वडामा ई–नेटवर्किङको विकासनिर्माणका कामका लागि विज्ञहरूको संयन्त्र बनाएर अनुगमन र नियमनको व्यवस्था गरेका छौँ । सेवाग्राहीहरूलाई छिटोछरितो सेवा प्रवाहका लागि सहयोगी कक्ष बनाएका छौँ ।

गुनासो सुन्नका लागि हेल्प डेक्सको व्यवस्था गरेका छौँ । मैले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी संयन्त्रलाइ स्पष्ट निर्देशन दिएको छु, शून्य जनगुनासो आउने गरी काम अगाडि बढाइएको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: