‘सहिदहरुको चिहान खोतलेर सिंहदरबारभित्र ल्याउन नपरोस्’ : लालध्वज

काठमाडौं । पूर्व ऊर्जाराज्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुर्यमान दोङ लालध्वजले ३ नम्बर प्रदेशको नामकरण नेवा–ताम्सालिङ गर्न अधिकारवादीहरुले गरेको आन्दोलनलाई कमजोर ठानेको खण्डमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

आइतबार नेवा–ताम्सालिङ संघर्ष समितिले ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न माग गर्दै राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री लालध्वजले सरकारले आफूहरुको आन्दोलनलाई कमजोर ठानेको खण्डमा त्यसले राम्रो परिणाम नल्याउने बताएका हुन् ।

‘अहिले हामीले गरेको आन्दोलन सरकारको विरुद्धमा होइन, हामीले हाम्रो पहिचान झल्किने गरी ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न सरकार समक्ष सुझाव दिनका लागि आजको यो शान्तिपूर्ण आन्दोलन गरेका हौँ’ उनले भने, ‘हामीले गरेको यो आन्दोलनलाई सरकारले कमजोर ठान्यो भने त्यसको परिणाम राम्रो हुने छैन, हाम्रो जनयुद्ध र जनआन्दोलनका सहिदहरुको चिहान खोतलेर सिंहदरबारभित्र ल्याउन नपरोस् ।’

निरन्तर रुपमा पहिचानवादीहरु विभिन्न आन्दोलनमा सहभागी भएता पनि उनीहरुको अधिकार पहिचानलाई राज्यले बेवास्ता गरेकोप्रति नेता दोङले असन्तुष्टि पोखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, पूर्व सांसद्, चन्द्र महर्जन, पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, यशोदाकुमारी लामा लगायतले ३ नम्बर प्रदेशको नामकरण नेवा–ताम्सालिङ नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

राजधानीस्थित माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेवार र तामाङका अधिकारवादीहरुको बाक्लो उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!