नागरिकता बनाइदिन आग्रह गर्दा कुटिईन प्रेमकला

‘समयमा म नपुगेको भए छोरीको ज्यानै जाने अबस्था थियो

राजबिराज, नागरिकताको माग गर्दा एकजना महिला आफ्नै परिवारबाट कुटपीटमा परेकी छिन् ।

राजविराज नगरपालिका–१५ मुसहरनियाकी १९ वर्षीय प्रेमकलाले नागरिकता र विवाह दर्ता गर्न अनुरोध गर्दा उनीमाथि कुटपीट भएको हो ।

अहिले प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, गत शनिवार राती ससुरा भुनेश्वर, सासु रधियादेबी र पति मनोजले उनलाई कुटेका थिए ।

कुटाईबाट प्रेमकलाको छाती, ढाड, खुटा, कम्मर, पेटलगायतका शरीरका विभिन्न स्थानमा चोट लागेको छ। शरीरभरी नै निलडाम छ। कुटाईको दर्दबाट उनी छिनछिनमा बेहोस हुने गरेकी छन्।

समाचारका अनुसार, रुपनी गाउपालिका–१ रायपुर माईती भएकी प्रेमकलाको ०७४ साल बैशाखमा मनोजसित बिबाह भएको थियो। चारलाख दाइजोसहित उनको बिबाहमा १२ लाख रुपैयाँ खर्च भएको प्रेमकलाका पिता मोहन ठाकुरले बताएको समाचारमा उल्लेख छ । बिहेपछि घर गएकी छोरी प्रेमकलाले केही दिनपछि देखि नै यातना सहनु परेको मोहनको भनाई छ। उनका अनुसार बिह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र बनाईदिन आग्रह गर्दा प्रेमकलाका सासु, ससुरा र पतिले मानेका छैनन्।

विगतमा कयौं पटक कुटपीट गर्दा आफु गएर स्थानीय स्तरमै जनप्रतिनिधिसमेत राखेर सहमतिपछि छोरीको घर नबिग्रोस भनेर मुद्दा तर्फ नगएको मोहनले बताए। पछिल्लो पटक शनिवार फेरी कुटपीट पछि छोरीलाई घर भित्रै थुनेर राखेको जानकारी पाएपछि आफु गएर उद्दार गरि उपचारका लागि अस्पताल ल्याएको मोहनको भनाई छ। ‘एक त निर्घात कुटपीट गरिएको छ, त्यसमाथि घरभित्रै थुनेर राखिएको थियो’ मोहनले भने, ‘समयमा म नपुगेको भए छोरीको ज्यानै जाने अबस्था थियो।’

उनले छोरीको अबस्था गम्भिर रहेको बताए। ‘पुरै शरीरभर निलडाम छ, शरीरका कुनै भाग कुटाईबाट छुटेको छैन्’ मोहनले भने, ‘बासका भाटासमेतले कुटपीट गरिएको छ।’ प्रेमकलालाई कुटपीट गर्ने उनका पति मनोज, ससुरा भुबनेश्वर र सासु रधियादेबीलगायतबिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको मोहनले बताए।

जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले नागरिकता बनाईदिन र बिबाह दर्ता गरिदिन आग्रह गर्दा आफनै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएको उजुरी आएपछि संलग्नको खोजीका लागि प्रहरी परिचालित भएको बताए। ‘कुटपीटमा संल्गनलाई पक्राउ गर्न प्रहरी परिचालित छ, उनीहरु फेला पर्न सकेका छैनन्, घरवाट फरार छन्, अझै खोजी कार्य जारी छ’ उनले भने।

 

File Photo

कमेन्ट गर्नुहोस्

error: Content is protected !!