बलात्कारदेखि एसिड आक्रमण रोक्न संघसंस्था अघि सर्न मेयर रेणुको आग्रह

चितवन, असोज १४ । भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालले स्पाइनल इञ्जुरी सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम स्पाइनल इञ्जुरी समस्यामा रहेकाका लागि अत्यन्त महत्वपूर्ण हुने बताएकी छन् ।

रोटरी क्लब अफ चितवनको आयोजनामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा उनले यसबाट पीडितहरुलाई दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेकी हुन् । तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्दै दैनिक जीवनयापन सहज बनाउन प्रमुख दाहालले आग्रह गरिन् ।

उनले देशकै मध्य भागमा रहेको मेडिकल सिटीको रूपमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकामा यो सेन्टर बन्नु सकारात्मक भएको घारणा राखेकी थिइन् ।

महानगरपालिकाले गत जेठ ६ गते रोटरी क्लबलाई स्पाइनल इञ्जुरीको समस्याहरुलाई पुनर्स्थापना केन्द्र सञ्चालनका लागि १ बिघा जग्गा दिने निर्णय गरी यस सम्बन्धमा दुई पक्षीय हस्ताक्षर समेत भइसकेको छ ।

महानगर प्रमुख दाहालले आवश्यक साधन स्रोतको समायोजन गरी छिटोभन्दा छिटो अत्याधुनिक सुविधा सम्पन्न स्पाइनल रिहाबिहेसन केन्द्र सञ्चालन गरी सोसम्बन्धी पीडितहरुलाई प्रभावकारी सेवा दिन आग्रह गरिन् ।

भरतपुर महानगरपालिका मानवीय र सामाजिक सेवामा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको भन्दै प्रमुख दाहालले यो रिहाबिटेसन सेन्टर सञ्चालनमा आवश्यक सहयोग र समन्वय महानगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगर निर्माणको दिशामा लागि रहेको बताउँदै रोटरी क्लबले निर्माण गर्ने पुनर्स्थापना सेन्टर सहयोगी बन्ने विश्वास प्रमुख दाहालले व्यक्त गरिन् ।

हाल समाजमा महिला हिंसा, दुर्व्यवहार एसिड आक्रमण जस्ता अमानवीय घटनाहरु बढिरहेका छन् । यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न यस्ता सामाजिक संघसंस्थाहरुले विशेष भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

महानगर प्रमुख दाहालले भनिन्, ‘रोटरीले धेरै सामाजिक क्षेत्रमा काम गरेको छ जस्तै रोटरी करुणालयमा वृद्धवृद्धा, यो स्पाइनल, शिक्षाको क्षेत्रमा कार्डियाक सेन्टर बन्दै छ भन्ने सुनेको छु । समाज सेवा र सुधारमा अघि बढोस् भन्दै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’ तालिममा स्पाइनल इन्जरी पीडितहरू २२ जना चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरू सहभागी हुनेछन् ।

तालिममा स्पाइनल इन्जरीबाट जोगिने उपाय र सहज जीवनयापनसम्बन्धी सहजीकरण गरिने रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालले जानकारी दिए । तालिम आइतबारदेखि बिहीबारसम्म चल्ने छ ।

चितवनमा रहेका ५ वटा रोटरी क्लब, स्थानीय एवं बाह्य दाताहरूको सहयोगमा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको एक विगाह जमिनमा निकट भविष्यमै ५० सैयाको सुविधा सम्पन्न नमुना स्पाइनल इन्जरी पूर्न स्थापना केन्द्र सञ्चालन गर्न गइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा वडा नं.३ का अध्यक्ष चन्द्रमित्र पण्डित, रविन्द्र पिया, उत्तमलाल चुकेलगायतले स्पाइनल इन्जरी र उनीहरूको पुनर्स्थापना सम्बन्धी धारणा राखेका थिए ।

सो अवसरमा स्पाइनल इन्जरीका बिरामी समिर ठकुरी, गणेश बस्नेतले ‘यो माया भन्ने चीज रहेछ । अनौठौ’ गीतमा व्हील चियरमा बसी नृत्य प्रस्तुत गरेका थिए । उनीहरू रूखबाट लडेर मेरूदण्ड नचल्ने समस्याबाट पीडित छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!