मालपोत कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

हेटौँडा, असोज १४ । थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन् ।

पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान ११ः२० बजे करीब ७ जना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।

कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए । करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताए ।

घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइ रहेको प्रहरी प्रमुख ध्रुवप्रसाद शिलवालले बताए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!