इण्डोनेशियाः महाभूकम्प र सुनामीपछि शक्तिशाली पराकम्प

असोज १४ । इण्डोनेशियाको पालु नगर वरपर ४०० भन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि शक्तिशाली परकम्पहरूआउने क्रम जारी रहेको छ।

भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण ५०० जनाभन्दा बढी घाइते भएका छन् । पालु नगरमा भवनका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेका छन् । ज्यान गुमाएका मानिसका शवहरू सडकमा छन् । अस्पताल भवनहरूमा क्षति पुगेकोले घाइतेहरूको उपचार त्रिपालहरूमा भइरहको छ ।

उद्धारकर्ताहरू क्षतिग्रस्त भवनका भग्नावशेषमा च्यापिएका मानिसहरूसमक्ष पुग्न संघर्ष गरिरहेका छन् । भूकम्पका बेला पालु विमानस्थलबाट एक उडानलाई सुरक्षित रूपमा उडाउने कार्यमा लागेका एक हवाई उडान नियन्त्रकको समेत ज्यान गएको बताइएको छ । पालु नगरबाहिर भूकम्प र सुनामीले पुर्याएको क्षतिबारे प्रष्ट जानकारी प्राप्त भएको छैन । भूकम्पबाट बाच्न सफल मानिसहरूले शनिवारको रात आकासमुनि सुतेर बिताएका छन् ।

रातभर खटिएका उद्धारकर्ताहरूले भूकम्पपछि भत्किएको आठ तले होटलको भग्नावशेषबाट २४ जनालाई बाहिर निकालेका छन् । भवनभित्रबाट बचाउनका लागि मानिसहरूले आवाज निकालेपनि उद्धारकर्ताहरूसँग खन्ने र तान्ने उपयुक्त उपकरणको अभाव छ। अधिकारीहरूले मृतकहरूको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । अवरुद्ध सडक र भत्किएका पुलहरूका कारण उद्धार प्रयासमा बाधा पुगिरहेको छ । बीबीसीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!