चलचित्र मालिका र चङ्गाचेट एकसाथ भिड्दै

काठमडौंं, असोज १४ । हरेक हप्ता नेपाली चलचित्रको भिडन्तको विषय अब नौलो होइन ।

कहिले नामै नसुनेका चलचित्र जुध्छन्, त कहिले मल्टिस्टार चलचित्र नै । वर्षमा सयभन्दा बढी चलचित्र प्रदर्शन हुने हुँदा निकै कम चलचित्रले मात्र सोलो रिलिजको अवसर पाउँछन् । अब त्यो पनि लगभग लोप हुँदै गएको छ ।

गत भदौ २२ गते ‘रामकहानी’ र ‘रोज’ को भाले जुधाईले सिनेवृतले ठूलै हलचल ल्याएको थियो ।

त्यसपछि दशैंमा ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ एकसाथ प्रदर्शन हुने समाचार बाहिरियो । अन्ततः ‘छक्का पञ्जा ३’ ले घटस्थापना रोज्यो भने ‘जय भोले’ फूलपातीमा विभिन्न हलहरुमा प्रदर्शन आउने मिति निश्चित गरियो ।

अब फेरि अर्को महासंग्रामले सिनेवृत तात्न थालेको छ ।

आगामी कात्तिक १६ गते दुई ठूला चलचित्र जध्ने पक्कापक्की भएको छ । कात्तिक २१ गते अभिनेत्री रेखा थापाको ‘मालिका’ आउने पक्का भएको थियो । तर, शुक्रबार सार्वजनिक ट्रेलरमा फिल्मको प्रदर्शन मिति एक हप्ताअघि सारिएको उल्लेख छ ।

अब ‘मालिका’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रको रिलिज फेरबदल हुनुको कारण बलिउडको प्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ हो । यो फिल्म नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते प्रदर्शनमा आउँदै छ । आमिर खानको फिल्म ‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो फिल्मलाई एक साताअघि सारेकी हुन् ।

एकसाता अगाडि आएपनि ‘मालिका’ ले सोलो रिलिज भने पाउने छैन । यसअघि नै यो मितिमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्टार नेपाली चलचित्र ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ । अब कात्तिक १६ मा दुई ठूला फिल्मको लडाईँ पक्का भएको छ ।

केही समय अगाडि अभिनेत्री प्रियंका, रेखाबाट ‘नं.१ नायिका’को ट्याग खोस्ने दौडमा रहेको बहस सुरु भएको थियो । तर, लगातार एकपछि अर्को फिल्म बक्स अफिसमा पात्तासाफ हुँदा प्रियंकाले रेसमा आफूलाई टिकाइराख्न सकिनन् । बरु अभिनेत्री पूजा शर्मालाई यसको दाबेदार मान्न थालिएको छ ।

आगामी कात्तिक १६ को नतिजा रेखा र प्रियंका दुवैका लागि एकदमै महत्वपूर्ण छ । ‘पलाँस’, ‘डायरी’ र ‘रुद्रप्रिया’ नेपाली चलचित्र फ्लप भएपछि रेखाको स्टारडम खस्किँदै गएको छ । अब त्यसलाई उकास्नैपर्ने चुनौति ‘मालिका’ लाई छ । उता प्रियंकाको स्टारडम अहिले शुन्य जस्तै छ । यसकारण ‘मालिका’ र ‘चङ्गा चेट’ लाई दुई अभिनेत्रीको स्टारडम मापन गर्ने तराजु भन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!