बसन्ती एसिड आक्रमणः मेयर रेणु दाहालको पहलमा निःशुल्क उपचार

चितवन, असोज १४ । जिल्लाको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले एसिड आक्रमणमा परेकी नवलपरासीको कावासोती नगरपालिका डण्डाकी बसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छन् । महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले बसन्तीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।

 

महानगर प्रमुख दाहालले वसन्तीको उपचारमा चाँसो दिँदै भनिज्, ‘घाइते वसन्तीको उपचारमा कुनै कमी हुन दिनेछैनौं ।’ महानगर प्रमुख दाहालले शनिबार भरतपुर अस्पतालमा पुगेर वसन्तीको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् ।

 

महानगर प्रमुख दाहालसँग पिडीत वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए । परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई बसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिएकी थिइन् ।

बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गरिन् । उनले उपचारमा भइरहेको प्रगतिबारे संलग्न चिकित्सकबाट जानकारी लिएकी थिइन् । प्रमुख दाहालले थप उपचारका लागि अन्यत्र लैजानु पर्ने भए आवश्यक समन्वय गर्नसमेत निर्देशन दिइन् । एसिड प्रहारजस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही गर्नसमेत उनले सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

 

महानगर प्रमुख दाहालसँग प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, अस्पतालका मेसु डा. कृष्ण पौडेल, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सामाजिक अभियन्ता मिना खरेल भरतपुर अस्पताल पुगेका थिए ।

 

गत सोमबार बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड खनाएका थिए । श्रीपालीलाई कावासोती प्रहरी नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!