लोकतान्त्रिक मूल्य मान्यताका लागि कांग्रेस एक हुनुपर्छः सभापति देउवा

काठमाडौ‌ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने बताए ।

 

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मान्यताविपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता कार्यकर्तामा एकता आवश्यक रहेको बताए । काङ्ग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जानुपर्ने उहाँको भनाइ थियो ।

 

काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँदले राष्ट्रिय अन्तर्राष्ट्रिय मातृ संस्थाको निर्देशनमा एक भएका वाम दलले मतपत्रमार्फत बन्दुक शासनको अभ्यास गर्न खोजेको आरोप लगाए ।

 

सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने क्रममा प्रमुख प्रतिपक्षी दलको उपस्थितिको आवश्यकता महसुस नगरी जग्गा व्यापारीसँगको मिलेमतोमा काम भएको उनको भनाइ थियो । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!