कमिशनका लागि बिरामीलाई भारत रिफर, दूतावासले गर्याे यस्ताे खुलासा

नयाँदिल्ली — नेपाली बिरामीहरूलाई ‘कमिसन’ का लागि अनावश्यक रूपमा भारतीय अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टलाई कारबाही गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा अगाडि उल्लेख छ:

कमिसनकै लागि भारतीय अस्पतालमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ । कमिसनकै लागि बिरामीहरूलाई अनावश्यक रूपमा भारतका क्लिनिक, नर्सिङ होम र अस्पतालमा ‘रिफर’ गर्ने गरिएको ठहर पनि दूतावासको छ ।

भारतस्थित स्वास्थ्य संस्था वा डाक्टरका एजेन्ट र तिनका कार्यालय भए तत्काल खारेज गर्न पनि दूतावासले सरकारलाई आग्रह गरेको छ । उपचारका लागि भारत आउने नेपाली बिरामीमाथि यहाँका डाक्टर तथा स्वास्थ्य संस्थाहरूले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढदै गएपछि दूतावासले यस्तो कदम चालेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए ।

दिल्लीस्थित एक प्रतिष्ठित स्वास्थ्य संस्थाका उच्च अधिकारीले केही साताअघि कान्तिपुरसँग गरेको कुराकानीमा नेपाली बिरामी पठाएबापत प्रतिबिरामी १५ प्रतिशत कमिसन दिइने गरेको स्वीकार गरेका थिए । त्यसरी रिफर गरिएका बिरामीसँग ती स्वास्थ्य संस्थाले १० देखि ३५ प्रतिशतसम्म थप रकम लिने गरेका छन् । यस्तो कमिसन विभिन्न अनधिकृत च्यानलमार्फत नेपाल पठाइने गरिएको छ ।

दूतावासका अधिकारीहरूले यहाँका विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिसनको चलखेल र नेपाली बिरामीमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न सचेत गराएको बताएका छन् । दूतावासले नेपाली बिरामीसँग भारतीय बराबर नै शुल्क लिनुपर्ने आग्रह गरेको पनि कार्यवाहक राजदूत रेग्मीले बताए ।

दूतावासले उपचारका लागि भारत आउने नेपाली नागरिकले पहिले उपचार गर्न जाने अस्पताल, उपचार पद्धति, डाक्टर, उपचारमा लाग्ने समय, खर्चलगायतबारे आधिकारिक स्रोतबाट बुझेरमात्र आउन पनि आग्रह गरेको छ । मृगौला, कलेजो र बोनम्यारोजस्ता अंग प्रत्यारोपणका लागि आउने बिरामीले परराष्ट्र मन्त्रालयबाट आवश्यक कागजात र सिफारिस लिएरमात्र आउन पनि दूतावासले सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!