गगन थापाले भने– ८० प्रतिशत स्वास्थ्य तपाईकै हातमा

काठमाडौं, असोज १३ । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन् ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौं क्षेत्र नम्बर–४ सांसदको कार्यालयद्वारा शनिबार आयोजित ‘काठमाडौंको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उनले भने–‘खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ ।’

पूर्वस्वास्थ्यमन्त्री थापाले ‘निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछिमात्रै रोग लाग्छ’ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यकाबारेमा सरकारलाई गाली गरेर नभइ आफैं ख्याल गर्नुपर्नेमा जोड दिए ।

‘नागरिकको स्वास्थ्यकाबारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन् । तर, ८० प्रतिशत जिम्मेवारी नागरिक आफैंको हो’–उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिको यात्रा पनि नागरिकको स्वस्थ जीवनबाटै सुरु हुने बताए ।

स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाटमात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!