७० प्रतिशत महिला बलात्कृत हुने देशको कथा

महिलाहरुका लागि भने चौबिसै घण्टा त्रासको समय रहेको हुन्छ । उनीहरु हिँडदा पनि निकै सतर्क भएर हिँडेको देखिन्छ

७० प्रतिशत महिला जीवनकालमा एकपटक बलात्कृत हुने देशको कथा

काठमाडौं, बलात्कारका घटनाहरुले रन्थनिएको नेपाल । एकपछि अर्को हिंसाका घटनाहरु सार्वजनिक हुँदै गरेको समय ।

तर विश्वमा एउटा यस्तो खतरनाक देश पनि छ, जहाँका महिलाहरुमाथि हुने हिंसा संसारका सबै देशहरुभन्दा बढी छ ।
अष्ट्रेलियाको उत्तरमा अवस्थित रहेको छ यो देश । नाम हो– पपुआ न्यूगिनी ।

केही अनुमानले बताए अनुसार, यो देशमा ७० प्रतिशत महिला जीवनमा एकपटक बलात्कारको शिकार हुनुपरेको हुन्छ

बिबिसीका बेन्जामिन जेण्डले पपुआ न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीको भ्रमण गरेर कतिपय यस्ता तथ्य बाहिर सार्वजनिक गरेका हुन । उनले त्यहाँ पुगेर महिलामाथि हिंसा सही हो भन्ने देखि अब अति भयो भनेर बिरोध गर्नेहरुलाई भेटेको बताएका छन् ।

पपुआ न्यूगिनी उच्च बलात्कार र घरेलु हिंसा हुने देशहरुको सूचिमा सबैभन्दा माथि छ । तर समस्या के भने एकआध घटना बाहेक अन्यमा बलात्कारीले सजाय पाउँदैनन् ।

एकजना वरिष्ठ प्रहरी अधिकारीका अनुसार, जनवरीदेखि मई २०१८ सम्ममात्रै बलात्कारका ६ हजार बढी घटना दर्ता भएका छन् । यी त दर्ता भएका घटना न हुन । दर्ता नभएका कति होलान त भन्ने कुरा कल्पना पनि गर्न सकिन्न । किनभने पपुआ न्यूगिनीमा यी घटनाहरु सामान्य हुन । कसैलाई सोधे पनि सोझो जवाफ पाइन्छ– ‘श्रीमती, साथी या गर्लफ्रेण्ड होइन भने उसँग हिँसा हुनु सामान्य हो ।’

पपुआ न्यूगिनीमा स्थानीय बदमासहरुलाई रास्कल भनिन्छ । यिनीहरुमाथि नै सबैभन्दा बडी बलात्कारको आरोप लागेको देखिन्छ । त्यसैले सामूहिक बलात्कार दैनिक गतिविधि जस्तै बनेको हुन्छ । उनीहरुलाई क्यामेरा प्रहरीको डर हुन्न । एकजना रास्कलले बिबिसीलाई बताए अनुसार, त्यहाँका महिला सबैभन्दा सजिलो शिकार हुन । उनीहरुलाई लुटनु सबैभन्दा सजिलो हुन्छ । सडकमैं कुनै महिलालाई पिटेको खण्डमा कसैले पनि बिरोध गर्दैन ।

उता महिलाहरुका लागि भने चौबिसै घण्टा त्रासको समय रहेको हुन्छ । उनीहरु हिँडदा पनि निकै सतर्क भएर हिँडेको देखिन्छ । महिला हिंसाका यतिबढी घटना छन कि त्यहाँ सरकारले सेफ हाउस नाम गरेको घर समेत खोल्नु परेको छ ।

सेफ हाउसमा भेटिएकी सुजैन विगत दुई महिनादेखि आफ्नो बच्चासँग यो घरमा बस्दै आएकी छिन् । वर्ष २००० मा उनको बिहा भयो । १८ वर्षसम्मको घरेलु हिंसाबाट निस्सासिएपछि उनले अन्तमा विद्रोह गरिन । “उसले मलाई निकै कुट्थ्यो, यो वर्ष त हात नै चिर्यो । ३५ टाँका लगाउनु पर्यो । मलाई दुई तलाबाट हाम फाल्नुपरयो ।”

धेरै महिलाहरुले सेफ हाउसमा शरण मागेका छन् । तर नियम अनुसार, यहाँ सबै बस्न भने पाउँदैनन् । मैरिसाले उमेर बढी भएकै कारण त्यहाँ बास पाइनन् । उनका अनुसार, उनको ज्वाईंले उनीमाथि जबर्जस्ती गर्न खोज्छ ।

मेडिसिन्स सान्स फ्रन्टोरियरले जारी गरेको प्रतिवेदनले समेत त्यहाँको डरलाग्दो अवस्थाको बारेमा वर्णन गरेको छ । बहुविवाह, बालविवाह, स्थानीय समुदायका कानुनलगायतले हरेक महिलाले घरमा हिंसा सहनुपरेको प्रतिवेदनमा उल्लेख छ । ८० प्रतिशत पुरुषहरुले आफूले यो वा त्यो हिंसा गरेको स्वीकार गरेको समेत प्रतिवेदनमा छ ।

४० प्रतिशत गरिब रहेको यो देशमा महिलाहरुको अवस्था जटिल रहेको भन्दै ह्युमन राइट्स वाचले अवस्थालाई गम्भीरतापूर्वक लिन अनुरोध गरेको छ । बोक्सीलगायतका प्रथाहरुले समेत महिलाहरुमाथि हिंसा गरेको र बलात्कार तथा घरेलु हिंसा त सहनै नसकिने अवस्थमा पुगेको वाचको २०१८ को रिपोर्टमा उल्लेख छ ।

यस्ता घटनाहरुमा प्रहरीले खासै चासो नदिएको र न्याय माग्न जाँदा घूस नदिएसम्म रिपोर्ट समेत दर्ता नहुने वाचले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!