बरेलीमा २ लाख बढीलाई ज्वरो, २४ हजारमा मलेरिया, ५६ को मृत्यु

बरेली, ‘झुम्का गिरा रे, बरेली के बजार में…’ यो गीत सुन्ने धेरै छन् होला । तर यही बरेली शहरमा अहिले २ लाख बढी व्यक्ति ज्वरोले ग्रस्त छन् भन्दा कमैले पत्याउँछन ।

भारतको उत्तर प्रदेशको एउटा चर्चित शहर हो बरेली ।

शुरुका दिनमा स्वास्थ्य विभागले समेत यो कुरालाई सामान्यरुपमा लियो । फलस्वरुप ज्वरोका बिरामी बढ्दै गए ।

अमरउजाला दैनिकमा प्रकाशित समाचार अनुसार, अहिले ज्वरोबाट दुई लाख १३ हजार २८६ जना प्रभावित बनेका छन् । यसमध्ये २४ हजार १ सय ९७ जनामा औलोको संक्रमण भेटिएको छ । बरेली र छिमेकी जिल्लामा ५६ जनाको औलो (मलेरिया) कै कारण मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ ।

बरेलीका दश ब्लक, बदायुँमा चार, पीलिभितिमा आठ र शाहजहाँपुरमा ६ ब्लक फाल्सिपेरम मलेरियाको चपेटामा छन् ।

अहिले ८८ वटा बिभिन्न स्वास्थ्य टीमलाई बरेलीका १ सय ९ प्रभावित गाउँमा पठाइएको छ ।

मलेरिया निकै डरलाग्दो संक्रामक रोग हो । सुदूरपश्चिम र पश्चिम नेपालका कतिपय जिल्लाबाट नियमित आवतजावत हुने यी क्षेत्रमा मलेरिया फैलिएपछि नेपालमा पनि सतर्कता हुन जरुरी रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!