फुटबलका चर्चित रेड कार्ड ! थाह पाउनुहोस्

काठमाडौं, असोज १३ । विश्व फुटबलमा अहिले च्याम्पियन्स लिगमा रोनाल्डोले खाएको रातो कार्डवरिपरि खुलेर बहस भइरहेको छ । युभेन्टसबाट च्याम्पियन्स लिग डेब्युमा नै रातो कार्ड पाएपछि रोनाल्डोको पक्ष र विपक्षमा उनका समर्थक र विरोधीबीच सामाजिक सञ्जालमा एक-अर्काविरुद्ध खुलेरै आलोचना भएको छ ।

 

अहिले इटालीका मिडिया र स्पेनिस मिडियाबीच पनि रोनाल्डोको रातो कार्डलाई लिएर पक्ष–विपक्षमा ठूलो प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन् । रोनाल्डोको रातो कार्डअघि पनि विश्वमा चर्चित रातो कार्डका प्रसंग यस्ता छन्

जिनेदिन जिदान (फ्रान्स)
२००६ विश्वकप फाइनल

खेलाडी तथा प्रशिक्षकका रूपमा थोरै व्यक्ति चम्कने गर्छन् । त्यही पंक्तिमा पर्छन् फ्रान्सेली फुटबलर जिनेदिन जिदान । फ्रेन्च राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै उनले सन् १९९८ को विश्वकप तथा २००० को युरोकप च्याम्पियनसिप जिते ।

 

स्पेनिस क्लब रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा प्रशिक्षकका रूपमा आफ्नो बनाए । यस कारण जिदान खेलाडी र प्रशिक्षकका रूपमा सफल पात्र हुन् । त्यसैले फिफाले वर्ष उत्कृष्ट प्रशिक्षकको सूची सार्वजनिक गर्दा उनी कम समयमै उत्कृष्ट अन्तिम तीनमा पर्न सफल भएका थिए ।

 

तर, कहिलेकाहीँ यस्ता व्यक्तित्वले सामान्य गल्ती गर्दा टोलीले ठूलो मूल्य चुकाउनुपर्छ । कुरो हो सन् २००६ को विश्वकप फुटबलको फाइनलको । फ्रान्सले उपाधि भिडन्तमा इटालीको सामना गरिरहेको थियो । फ्रान्स लगभग उपाधिउन्मुख नै थियो । तर, एक्कासि खेलमा जिदानले इटालीका डिफेन्डर मार्को मेटेराजीलाई ‘हेडबट’ गर्दै रातो कार्ड खाएर मैदानबाट बाहिरिए ।

 

डेभिड बेकह्याम (इंग्ल्यान्ड)
१९९८ को विश्वकप

इंग्लिस फुटबलर डेभिड बेकह्यामले आफ्नो समयमा राष्ट्रिय टोलीबाट कुनै पनि उपाधि जित्न सकेनन् । तर, पनि उनी इंग्लिस फुटबलकै रोल मोडलका रूपमा परिचित भए । अप्रत्याशित रूपमा रिसाउने स्वभावका बेकह्यामले विश्वकपमा अति नै महत्वपूर्ण खेलमा रातो कार्ड व्यहोरेका छन् । सन् १९९८ को विश्वकपको नकआउट चरणमा इंग्ल्यान्डले अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

 

फ्रान्क रिज्कार्ड
(पश्चिम जर्मनी)

१९९० को विश्वकप पश्चिम जर्मनीले सन् १९९० को विश्वकप उचाल्दा मिडफिल्डर फ्रान्क रिज्कार्ड एक प्रमुख खेलाडीका रूपमा थिए । राम्रो खेलाडी भए पनि उनको नराम्रो बानी थियो– छिटै रिसाउने र विपक्षी खेलाडीविरुद्ध तत्कालै अपशब्द बोल्ने ।

 

आफ्नो त्यही रिसलाई नियन्त्रणमा राख्न नसक्दा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा रातो कार्ड पाए । पश्चिम जर्मनीले नकआउट चरणमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो । पहिलो हाफमा रिज्कार्डले नेदरल्यान्ड्सका खेलाडीसँग झगडा गर्दा चेतावनीस्वरूप पहेँलो कार्ड पाइसकेका थिए ।

 

वाइन रुनी (इंग्ल्यान्ड)
२००६ को विश्वकप
सन् २००६ को विश्वकपअन्तर्गत पोर्चुगल र इंग्ल्यान्डबीचको क्वार्टरफाइनल एक रातो कार्डकै कारणले चर्चित छ । तत्कालीन एकै क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने दुई स्टार खेलाडी वाइन रुनी र क्रिस्टियानो रोनाल्डोबीचको विवाद थियो । पोर्चुगलका रिकार्डो काल्भान्होलाई इंग्लिस डिफेन्डरले ट्याकल गर्दा रुनी प्रतिवादमा उत्रिएका थिए । युवा जोस नै थियो, रोनाल्डो पनि झगडामा समावेश भए ।

 

यही क्रममा उनी मैदानमा लड्न पुगे । उनले रेफ्रीलाई रुनीले आफूलाई लडाएको भनी आरोप लगाए । रेफ्रीले दोहोरो क्रसचेक नगरी रुनीलाई रातो कार्ड देखाए । उत्कृष्ट फर्ममा रहेका रुनी विनाकारण रातो कार्ड पाउँदा अत्यधिक रिसाएका थिए । विश्वकपछि युनाइटेडमा फर्कंदा रुनी र रोनाल्डोबीच केही समय बोलचाल नै बन्द भएको थियो । यो सामग्री नयाँ पत्रिकाबाट लिएका हौं ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!