भारतले जित्यो सातौं पटक एसिया कपको उपाधि

काठमाडौं, असोज १३ । शुक्रबार यूएइमा सम्पन्न भएको एसिया कपको उपाधि भारतले जितेको छ । फाइनलमा बंगलादेशलाई ३ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । यो पटकको उपाधि जितेसँगै भारतले भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न सफल भएको छ ।

 

बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो ।

फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने । त्यस्तै भारतका लागि ५ खेलमा ३४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने । उपाधिका लागि फाइनलमा भारतलाई फेभरेट मानिए पनि बंगलादेशसँग जितका लागि भारतीय ब्याट्सम्यानलाई निकै मेहनत गर्नुपर्यो ।

 

बंगलादेशी बलरले भारतीय ब्याट्सम्यानलाई कडा दबाब दिए । सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग टाई गरेको भारतले बंगलादेशसँगको खेलमा पनि उत्कृष्ट प्रर्दशन भने गर्न सकेन ।

 

भारतीय टिमको सुरुवाती प्रदर्शन खासै उत्कृष्ट रहेन । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शिखर धवन मात्रै १५ रन बनाएर आउट भए । अम्बाती रायडू पनि दुई रनमै पेभेलियन फर्किए ।

 

लयमा देखिएका कप्तान रोहित शर्माले पनि ठूलो पारी खेल्न सकेनन् । रोहित ५५ बलमा ४८ रन बनाएर आउट भए । भारतको स्कोर बोर्डमा ८३ रन हुँदा उसले तीन विकेट गुमाइसकेको थियो । महेन्द्र सिंह धोनी र दिनेश कार्तिकले चौथो विकेटका लागि ५४ रन जोडे । कार्तिक ३७ रन बनाएर महमुदुल्लाहको बलमा आउट भए ।

त्यसपछि धोनी पनि ३६ रन बनाएर मुस्तफिजुर रहमानको बलमा आउट भए । रवीन्द्र जडेजाले २३ रन बनाउँदा भुवनेश्वर कुमारले २१ रनको योगदान दिए ।

 

यता, बंगलादेशले लिटन दासको शतकीय पारी (१२१) मद्धतमा २२२ रन बनाएको थियो । दासले ११७ बलमा १२ चौका र २ छक्काको सहयोगमा १२१ रन बनाए । बंगलादेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२२ रन बनाएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!