सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारत-पाकिस्तान तनाव

न्यु योर्क, असोज १२ । दक्षिण एसियाली सहयोग संगठन-सार्कको बैठकमा भारत-पाकिस्तान तनाव छताछुल्ल भएको छ । न्युयोर्कमा संयुक्त राष्ट्र संघ महासभाको अवसर पारेर आयोजित सार्क विदेशमन्त्री स्तरीय बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्ना पाकिस्तानी समकक्षी महमुद कुरैसीको सम्बोधन नसुनेरै अर्कै कार्यक्रममा हिँडेपछि कुरैसीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उक्त बैठकमा स्वराज र कुरैसीबीच केही कुराकानी हुने यसले दुई देशबीच संवादको वातावरण बन्ने अनुमान गरिएको भएपनि त्यसो भएन । स्वराजले कुरैसीसँग कुरा नै गर्न नचाहेको र आफ्नो सम्बोधन सिध्याएर कुरैसीले बोल्ने बेलामा बैठक नै छाडेर गएको भारतीय समाचार मध्यमहरूमा उल्लेख गरिएको छ ।

उक्त बैठकमा स्वराजले पाकिस्तानप्रति अप्रत्यक्ष रूपले प्रहार गर्दै आतंकवादलाई प्रश्रय दिने काम राम्रो नभएको बताएकी थिइन् । तर कुरैसीको पालो आउनासाथ उनी अर्को कार्यक्रममा जानुपर्ने भन्दै निस्किएपछि पाकिस्तानी विदेशमन्त्री आक्रोशित भएका थिए ।
उनले सार्कको प्रगतिमा एउटा देशको रवैया बाधक रहेको बताउँदै यस मंचबाट केही उपलब्धि हासिलगर्न मिलेर अगाडि  बढ्नुको विकल्प नरहेको बताए । पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा कुरैसीले सुष्माको नाम नलिएरै आफूहरूबीच कुनै कुरा नभएको र उनी आफ्नो कुरा नसुनेरै बैठकबाट बाहिरिएको बताएका थिए । कुरैसीले आफूले उनको भाषण सुनेको तर उनले भने आफ्नो कुरा सुन्न नचाहेको बताए । कुरैसी भन्छन्, बिना संवाद पारस्परिक सहयोग सम्भव छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!