मेस्सीलाई ७०० औँ म्याचमा यस्तो झड्का

काठमाडौँ, असोज १२ । स्पेनिस फुटबल लीग ‘ला लिगा’मा हालको च्याम्पियन टीम बार्सिलोनालाई पुछारको वरियतामा रहेको टीम लेगानेसले २-१ ले पराजित गरेको छ । यो खेल दुई कारणले महत्वपूर्ण रहेको थियो । एउटा त यो बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीको ७०० औँ म्याच थियो भने, अर्को लेगानेसले पहिलो चोटी बार्सिलोनालाई हराएको हो । लेगानेसका लागि त फर्स्ट डिभिजन फुटबलमा यो तेस्रो मात्र सिजन हो । झन् यस सिजनका छ म्याचमा भने यो लेगानेसको पहिलो जीत हो ।

१४ वर्ष अगाडी बार्सिलोनाको लागि खेल्न थालेका मेस्सी बार्सिलोनाको तर्फबाट सात सय म्याच खेल्ने तेस्रो खेलाडी हुन् । यस अघि जाभी हर्नान्देज ले आठ सय ६९ खेल र आन्द्रेस इनिएस्ताले सात सय ५८ खेल खेलिसकेका छन् । बार्सिलोनामा अनुबन्ध भए यता मेस्सीले अरु क्लबबाट खेलेका छैनन् ।

लेगानेसको एस्टाडियो बुतारक्यु रंगशालामा बार्सिलोनाका फिलिप कुटिन्होले १२ औं मिनेटमा एक गोल गरेर टीमलाई अग्रता दिलाए पनि उनको यो गोल बार्सिलोनाको एक मात्र गोल हुन् पुग्यो । पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्सिलोनालाई दोस्रो हाफमा ६८ सेकेन्डमै दुई गोल हिर्काएर लेगानेसले फर्किन दिएन ।

उसका लागि नेबिल अल जहारले ५२ औँ मिनेटमा र अस्कर रोड्रिगेजले ५३ औँ मिनेटमा गोल गरेका हुन् । यस जीतसँगै लेगानेस अंक तालिकामा २० बाट उक्लिएर १८ औं नम्बरमा पुगेको  छ ।

उता लीगको दोस्रो वरियताको टोली रियल म्याड्रिडले पनि सेभिल्लाको हातबाट ३-० को पराजय भोग्नु परेको छ । गत ४४ महिना यता बार्सिलोना र रियल म्याड्रिडले एकै दिन हार ब्यहोरेको पहिलो पल्ट हो । यस अघि यो संयोग ४ जनवरी २०१५ मा जुरेको थियो । सेभिल्लाले भने चार महिनाको अवधिमा दोस्रो पल्ट रियललाई हराएको हो ।

तर यस हारले यी दुवै टीमको वरियतामा भने कुनै फरक परेको छैन । अहिले पनि बार्सिलोना लीगको शीर्षमा र रियल दोस्रो नम्बरमा रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!