दशै‌मा घर जानेहरुका लागि यातायात विभागको यस्तो छ अाग्रह !

काठमाडौं, असोज १२ । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दशैंमा यात्रामा समस्या हुने भएको छ ।

विभागले नै दशैंमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपाती पछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् ।

‘फुर्सद हुनेहरू पहिले गइदियो भने पछिलाई चाप कम हुन्छ, सहजरूपमा जान पनि पाउन सकिन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ ।’ यो वर्ष दशैंका लागि नयाँ बस नथपिने उनले बताए । सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन् । यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भएपनि यात्रुलाई सुविधा दिने बताएको थियो । तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए ।

अहिले अब नयाँ गाडी थप्न सक्ने अवस्था छैन । तर, हामी भएकै गाडी चलाएर यात्रु ओसार्छौँ । दिउँसो यात्रु बोकेर गएका गाडी राति नै फर्किन्छन् र भोलिपल्ट फेरि यात्रु बोकेर जान्छन् । राति यात्रु लिएर छुटेका बस पनि दिउँसो नै फर्किन्छन् र फेरि बोक्छन् । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!