धनगढीका मेयर विरुद्ध सांसदहरुको उजुरी

धनगढी, असोज ११ । ७ नं. प्रदेशको राजधानी धनगढीबाट सार्ने प्रस्तावपछि भएको आन्दोलनमा प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका उप–महानगरपालिकाका मेयर नृप ओड विरुद्ध सासंदहरुले नै उजुरी हालेका छन् ।

मेयर ओडले धनगढी बाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा वस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए । उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए ।

मेयरको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै प्रदेशसभा सदस्यहरुले नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । प्रदेश सभा सदस्यहरु हर्क वहादुर कुँवर, लिलाधर भट्ट, नन्दबहादुर साउँद, देवकी मल्ल, अक्कलबहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिह बोहराले मेयर विरुद्ध उजुरी हालेका हुन् ।

उजुरीमा दंगा भड्काउने अभिव्यत्ति दिएकाले कानुनी कारवाहीको माग गरिएको छ। मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको स्वीकार गरिसकेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको बताएका हुन् ।

प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप मेयर ओडले लगाउँदै आएका छन् ।

दिनेशखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!