नेता पौडेल सोध्छन्– निर्मला पन्त हत्याकाण्डको छानविन प्रतिवेदन किन लुकाइयो ?

काठमाडौं, असोज ११ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन लुकाइएको भन्दै नेता पौडेलले तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे । उनले छानविन समितिले गृहमन्त्री रामबहादुर थापालार्इ बुझाएको प्रतिवेदन गुपचुप राखेको बताए ।

निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको आरोप छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराएका छन् ।

१० दिन लामो युरोप बसाइका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!