भवन हस्तान्तरणका विषयमा झडप हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

सिरहा, असोज ११ ।

सिरहाको मिर्चेयामा वडा नम्बर ८को कार्यालयको नवनिर्मित भवन हस्तान्तरणका विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । झडपमा मिर्चैया नगरपालिका ८ भगवतपुरका मनोजकुमार यादव, विष्णु यादव, रामअशिष यादव र उनको भाइ मनिकलाल यादव घाइते भएका हुन् । घाइतेहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नर्सिङ होममा उपचार भइरहेको छ ।

हन्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानर राखेको भन्दै विवाद र झडप भएको हो । वडाध्यक्ष रामजगत शाहले हन्तान्तरणमा उदघाटनको ब्यानर राखिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामअशिष यादवमाथि आक्रमण गरेको स्थानीयले बताए ।

विवादपछि भवन हस्तान्तरण कार्यक्रम स्थगित भएको छ । उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो ।

मिर्चेयामा नगरप्रमुख नेकपाका छन् भने वडाध्यक्ष नेपाली कांग्रेसका छन् । फरक पार्टीका भएका कारण विकास निर्माण सम्वन्धी काममा पटक पटक विवाद हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!