आर्थिक अभावका कारण मृत्युसँग लड्दैछिन बझाङकी यी महिला

लोकेश धामी, काठमाडौं। बझाङकी एक महिला आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–६, खड्का भन्ने ठाउँ घर भएर हाल रोजगारीका लागि भारतको ब्यङ्लोरमा रहेका रामबहादुर धामीकी श्रीमती धुतादेवी आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी हुन् ।

 

उनलाई ‘ब्रेन ट्युमर’ सम्बन्धी रोग लागेको छ र अहिले उनी भारतको सिद्धी साई अस्पतालमा भर्ना भएकी छन् । तर, आर्थिक अभावले गर्दा धुताको उपचारमा कठिनाई भएको उनका श्रीमान् राम धामीले जानकारी दिए । श्रीमतीको उपचारका लागि न्यूनतम् पाँच लाख खर्च लाग्ने चिकित्सकले बताएका उनले जनाए ।

 

रामले भने, ‘डाक्टरहरुले पाँच लाख रुपैयाँ लाग्ने भनेका छन् । हामीसँग त्यति पैसा छैन, निकै संकट भइरहेको छ । अहिले सबैसँग हारगुहार गरिहरहेका छौं ।’ रामकी श्रीमती एक महिना अघि मात्रै ब्यङ्लोर गएकी थिइन् । एकदिन अचानक विरामी परेपछि अस्पताल भर्ना गराएको र जाँच गर्दा ‘ब्रेन ट्युमर’ भएको अस्पतालले बनेको रामले बताए ।

 

उनले गहभरी आँसु देखाउँदै भने, ‘गरिबीका कारण धन कमाउन भारत आएको थिए । एक महिनाअघि श्रीमतीलाई पनि बोलाए, उनी एक्कासी विरामी परिन्, अस्पताल भर्ना गर्दा त डाक्टरले ‘ब्रेन ट्युमर’ छ भन्यो ।’ अहिले रामकी श्रीमती अस्पतालको आइसियूमा छिन् ।

 

राम ब्यङ्लोरको संजयनगर भन्ने ठाउँमा लामो समयदेखि काम गर्दै आएका थिए । उनले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । रामले भने, ‘सबै नेपाली दाजुभाई, दिदी-वहिनीलाई आग्रह गर्छु । मेरी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरेर बचाइदिनुस् । म संघ-संस्थालगायत सम्पूर्ण नेपालीलाई आर्थिक सहयोगका लागि विशेष याचना गर्छु ।’

 

यदि तपाइँले उपचार अभावले आइसियूमा रहेकी धामीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनका श्रीमान्को नम्बरमा फोन गरेर बुझ्न सक्नु हुनेछ । उनको मोबाइल नम्बर ७३४९५७८२३० हो । भने, बैंक खाता नम्बर ४१०२०२०१००१८१८३ रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!