राजधानी सार्न खोजेकाे विरोधमा धनगढी बन्द

कैलाली, असोज ११ । प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढीबाट गोदावरी नगरपालिकामा सार्न खोजिएको विरोधमा धनगढी बन्द गरिएको छ ।

राजधानी नसार्न दवाव दिँदै धनगढीवासीले एक दिनका लागि आम हड्ताल गरेका हुन् । बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् ।

धनगढी बजारमा बन्दकर्ताले अटो रिक्सासमेत चल्न दिएका छैनन् । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउँदै हिँडेका छन् ।

उनीहरुले अस्थायी राजधानीका लागि धनगढीका करोडौं रुपैयाँ खर्च भईसकेको बताउँदै जङ्गल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरिरहेका छन् । बन्दलाई मध्यनजर गर्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

मंगलबार विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सुझाव दिँदै प्रतिवेदन संसदमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा माथि संसदमा छलफल जारी छ ।

प्रतिवेदन शुक्रबार सामान्य छलफलपछि टुङ्ग्याउने तयारी प्रदेश सरकारले गरेको छ । दुई तिहाई बहुमत रहेको सरकारले शुक्रबार मतदानका आधारमा भए पनि प्रदेश नाम र राजधानी टुङ्ग्याउने तयारी गरेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!