अब राहदानी हडपे तीन वर्ष कैद, पाँच लाख जरिवाना

काठमाडौं, असोज ११ । अनुमतिबिना अर्काको राहदानी नियन्त्रणमा राख्नेलाई पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म जेल सजाय हुने भएको छ । यो व्यवस्थाले वैदेशिक रोजगारीमा पठाउने नाममा कामदारको राहदानी लामो समय ‘होल्ड’ गरिरहने तर काम नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने कानुनी बाटो खुलेको छ ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकले राहदानीसम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो । वैदेशिक रोजगारीमा जान प्रक्रिया थालेको कामदारले पछि उचित नलागेर जान नचाहँदा म्यानपावर कम्पनीले राहदानी नियन्त्रणमा राखिरहने प्रवृत्ति छ । राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएपछि यस्ता म्यानपावर सजायको भागीदार हुनेछन् । यसअघि कामदारले वैदेशिक रोजगार बिभागमा उजुरी दिदाँ पनि म्यानपावरमाथि कारबाही हुदैनथ्यो ।

 

उक्त विधेयकले कूटनीतिक राहदानी (रातो राहदानी) सरकारीबाहेकका काममा पनि प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । रातो पासपोर्ट प्राप्त पदाधिकारीले सरकारी कामका सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यसको प्रयोग गर्न पाउने प्रावधान संशोधन गर्दै कूटनीतिक तथा विशेष राहदानी प्रयोगसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था राखेर विधेयक पारित गरिएको हो । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!