बलात्कारको गलत रिपोर्ट दिने २ डाक्टरलाई कारबाही सिफारिस

धनुषा, असोज ११ । बालिका बलात्कारमा गलत रिपोर्ट दिने दुई डाक्टरलाई धनुषाको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले कारबाही सिफारिस गरेका छन् । ती डाक्टरले बलात्कार नै नभएको रिपोर्ट दिएका थिए ।

 

जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई कारबाही सिफारिस गरिएको हो । उनीहरूलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र गृह मन्त्रालयमा पत्र पठाएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । उनीहरूले धनुषाको जनकन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिका बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिएका थिए ।

 

बलात्कारजस्तो अपराधमा मेडिकल रिपोर्ट महत्वपूर्ण हुने भन्दै धनुषा सरकारी कार्यालयका वकिल टेकबहादुर कार्कीले अपराधीलाई संरक्षण गर्ने नियतले गलत रिपोर्ट आएको देखिएको बताए । ‘कतिपय बलात्कारका मुद्दामा गलत मेडिकल रिपोर्टका आधारमा अपराधी उम्कने गरेका छन्,’ उनले भने ।

 

विगतमा पनि अस्पतालहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट समयमा उपलब्ध नगराउने गरेको प्रहरी उपरीक्षक थपलियाले बताए । अञ्चल अस्पतालका चिकित्सक सिंहले भने आफूले तयार पारेको रिपोर्ट सही भएको दाबी गरेका छन् ।

 

त्यसो त जनकपुर अञ्चल अस्पतालमा परीक्षणका लागि शवको अंगको नमुना र भिसेरा संकलन सरसफाइकर्मीले गर्ने गरेका छन् । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिवेक्षक डा। रामपरीक्षण यादवले शवको पोस्टमार्टम गर्दा भिसेरा निकाल्ने र चिरफारपछि शवको सिलबन्दी गर्ने काम सरसफाइकर्मीले नै गर्ने गरेको स्वीकार गरे । तालिमप्राप्त सफाइकर्मीले सो काम गर्दै आएको यादवको दाबी छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!