मेसीको बार्सिलोना पुछारमा रहेको टिमसँग हार्‍यो, शीर्ष स्थानमा भने कायमै

एजेन्सी, असोज ११ । स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले जारी सिजनमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेसी कप्तानीको बार्सिलोना पुछारको लेगानेशसँग २–१ ले पराजित भएको हो ।

 

सुरुमै अग्रता लिएर पनि बार्सिलोनाले हार टार्न सकेन । १२ औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट अवे मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लियो ।

 

पहिलो हाफमा पछि परेको लेगानेशले दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गरेको हो । ५२ औं मिनेटमा नबिल एल जहरले लेगानेशका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि ओस्कार रोड्रिग्वेजले गोल गर्दै टिमलाई जितको नजिक लगे ।

 

बार्सिलोनाले त्यसपछि गोल गर्न सकेन र हार स्वीकार्न बाध्य भयो । बार्सिलोनालाई हराएको लेगानेशले यसअघिका पाँच खेलबाट मात्रै एक अंक जोडेको थियो । बार्सिलोनालाई हराएपछि ६ खेलबाट चार अंक जोडेको लेगानेश १७ औं स्थानमा उक्लिएको छ । १३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!