कांग्रेसबाट निर्वाचित मेयरले भने- ‘धनगढी राजधानी नबनाए सांसदलाई जलाएर मार्छौं’ [भिडियो]

कैलाली, असोज ११ । जिल्लाको धनगढी उपमहानगरपालिक प्रमुख नृपबहादुर वडले प्रदेश राजधानी धनगढी कायम नबनाए प्रदेश सदस्यलाई आगो लगाएर जलाउने अभिव्यक्ति दिएका छन् । उनले धनगढीबाट राजधानी अन्यत्र सार्ने निर्णय भएको २४ घण्टाभित्र सांसदलाई चेतावनी दिएको हुन् ।

 

राजधानी धनगढी नभएको विरोधमा कांग्रेस कार्यकर्ताले प्रदेश सभा अगाडि गरेको प्रदर्शनका क्रममा उनले भने, ‘राजधानी अन्यत्र सारेको २४ घण्टाभित्र यिनीहरु धनगढी छोड्नुपर्छ । यिनीहरुलाई धनगढी बस्ने नैतिकता छैन । हैन भने यिनीहरु जहाँ बसेका छन् त्यहाँ तोडफोड हुने मात्र होइन, जलाएर हिड्न सक्ने परिस्थिती बन्छ ।’

 

प्रदेश सभा र सांसदहरु वन माफिया र तस्करबाट बिक्री भएका आरोप मेयर वडले लगाएका छन् । उनले प्रदेश राजधानी सार्नेविरुद्ध आन्दोलन जारी रहने बताए । ‘आन्दोलन जारी राख्ने मात्र होइन, जलाएर मारिन्छ । यिनीहरुले १७ हजार मान्छे मारे भने हामी यिनीलाई मारिदिने परिस्थिति बन्छ ।’ कांग्रेस धनगढीका नगर सभापतिसमेत रहेका मेयर वडले भने, ‘दुई तिहाइको दम्भमा पूर्वाग्रही निर्णय हुँदैछ ।’

 

प्रदेशको नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न संसदद्वारा गठित विशेष सुझाव समितिले राजधानीका लागि धनगढी सिफारिस नगरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि प्रदर्शन गरेका थिए ।

 

संसदभित्र प्रदेश नाम र राजधानीका विषयमा छलफल भइरहदा संसद् भवनको मुल गेटमा टायर बालेर प्रदर्शन गरेका कांग्रेस नेता, कार्यकर्ताहरुले प्रदेश सरकार, संसदीय समिति र प्रदेश सभा विरुद्ध नाराबाजी गरे ।

 

जंगल मासेर राजधानी बनाउन उपयुक्त नभएकाले धनगढीलाई नै राजधानी बनाइनु पर्ने आन्दोलनको अगुवाइ गरिरहेका हरि रेग्मीले बताए । राजधानी धनगढी कायम नगरिए आन्दोलनलाई चर्काइने चेतावनी आन्दोलनकारीले दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!