प्रेमिकासँग बस्न अपहरण शैलीमा भागेका डाक्टर प्रहरीको फन्दामा

लहान, असोज १० । मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया-२ का डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।

 

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए। मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गायब भए ।

 

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरे । जानकारी पाएलगतै प्रहरीले खोजबिन थाल्यो । डाक्टर सवार जिप पश्चिमतर्फ गएको थाहा पाएर सबै प्रहरी चौकीमा उनको फोटो पठाइयो ।

 

बीच बाटोमै जिप छाडेर मोटरसाइकलमा चढी हेटौडा जाँदै गरेका यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । डाक्टर यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनी जिल्ला अस्पताल हेटौंडा र त्यहींको अर्को सहकारी अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यादवसँगै उनलार्इ भाग्न सहयोग गर्ने एक सहयोगीलार्इ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

उनले हेटौडा-९ की सपना यादवसँग प्रेम विवाह गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए । खरेलका अनुसार यादवलाई श्रीमतीले कान्छी श्रीमतीसँगको सम्बन्ध छुटाउनका लागि लहान ल्याएर राख्दा उनी अपहरण शैलीमा भाग्न खोजेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!