पप्पु कन्स्ट्रक्सनलाई यति धेरै ‘पुरस्कार’ किन ?

काठमाडाै‌ँ, असाेज ९ ।

संघीय संसदअन्तर्गत रहेका विभिन्न समितिको बैठक आज सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले दशैंको अग्रिम टिकाट बुकिङमा तोडियो भनेको एकाधिकारले मन्टो उठाएको र आलोचित पप्पु कन्स्ट्रक्सनले पाएको ठेक्काका विषयमा प्रश्न उठाएका थिए ।

धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गरिनुपर्नेमा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिएकामा सांसदले विरोध जनाएका छन् ।

सांसद टोपबहादुर रायमाझीले कालोसूचीमा राख्नुपर्ने निर्माण कम्पनीलाई भवन बनाउन दिएर सरकारले के गर्न खोजेको भनी प्रश्न गरे। शहरी विकास मन्त्रालयले कुनै जिल्लामा धेरै कार्यक्रम र कुनै जिल्लामा कार्यक्रम नै नराखी असन्तुलित र अव्यावहारिक काम गरेको उनको भनाइ थियो ।

सांसद यज्ञराज सुनुवारले पनि पप्पु कन्स्ट्रक्सनका बारेमा समितिले थाहा नपाएको जस्तो गर्न नहुने माग गरे । सांसद केदार सिग्देलले पूँजीगत खर्च बढाउन समितिले सरोकार भएका मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए । समितिले विकास आयोजनाको अनुगमनसमेत गर्नुपर्नेमा जोड दिए ।

सांसद रामकुमारी झाँक्रीले पप्पु कन्स्ट्रक्सनले पाएका ठेक्काको छानबीन गर्न माग गरिन । अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै नेतृ झाँक्रीले पप्पुलाई नै किन यति धेरै टेण्डर पर्छन् ? किन पारिन्छ ? भन्दै प्रश्न उठाएकी हुन् ।

‘यो कन्स्ट्रक्सनले ठेक्का लिएर समयमै पुल निर्माण नसकेका थुप्रै उदाहरण छन्,’ उनले भनिन्, ‘यति थाहा पाउँदापाउँदै फेरि राष्ट्र बैंकको भवन बनाउने टेण्डर उसले फेरी कसरी पायाे ।’

बैठकमा सांसदले सदन र समिति बैठक एकै दिन नपर्ने गरी समितिको आन्तरिक कार्यविधि निर्माण गरिनुपर्ने, समसामयिक विषयमा बैठक राखेर सरोकार भएका निकायका अधिकारीलाई बोलाएर निर्देशन दिई भावी कार्यक्रम बनाइनुपर्नेतर्फ सभापति कल्याणी खड्काको ध्यानाकर्षण गराएका थिए ।

सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै सभापति खड्काले समिति तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘

मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र छलफल गरिने, भूकम्पपीडितको समस्या समाधानका लागि पहल गर्ने, पुनःनिर्माणमा आइपरेका समस्या समाधानका लागि सहज वातावरण बनाउन समितिले अग्रसर रहने सभापति खड्काले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!