छिमेकी नै पापी भएपछी ज्यान नै गुमाउनु पर्यो सम्झनाले

(शिव पुरी/कान्तिपुर दैनिक)
रौतहट — चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् ।

भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए। गम्भीर
घाइते सम्झनाको आइतबार राति निधन भयो।

‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन। छिमेकी पापी भएपछि कसको के लाग्छ र?’ जादोलाल गरिब परिवारका हुन्। उनको एकधुर पनि जमिन छैन। २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो। त्यसपछि विवाह भयो। धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो।

तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो। धनमाया रोजगारीका लागि साउदी अरब गइन्। सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन्। सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन्। आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए। लालनपालन जादोलालले नै गर्थे। धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्मशिलासित मागी विवाह गरे।

घटनाको दिन सानीआमा अर्को कोठामा सुतेकी थिइन्। उनले समेत घटनाबारे पत्तो पाइनन््। जादोलालका छिमेकी विष्णु महतोले पासवानको एकोहोरो मन पराई नै सम्झनाको मृत्युको कारण बनेको बताए। ‘पासवान हेर्दा सोझो देखिन्थे,’ उनले भने, ‘भित्री मन र उनको व्यवहार अर्कै रहेछ।’ सम्झनाको मृत्युले गाउँ शोकमग्न छ। घटनापछि उनको घर सुनसान थियो। घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे। नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन्। ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो।’

उनी घरमा एक्लै टोलाइरहेका थिए। छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए। घटनापछि दुवैको उपचारमा समस्या भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो। उपचारका लागि स्थानीयले चन्दा उठाए। स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो। सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो। उनको २ पटक शल्यक्रिया गरिएको थियो। शरीरको ३५ प्रतिशत भाग जलेको थियो। एसिडले उनको अनुहार, घाँटी, ढाड र छातीको भाग जलेको थियो। चिकित्सकले उनको शल्यक्रिया गरी जलेको भाग काटेर फालिए पनि बचाउन सकेनन्। सुस्मिताको भने अवस्था धेरै गम्भीर छैन। एसिडले उनले दाहिने हत्केलादेखि काखीसम्म पूरै जलेको छ। पाँच प्रतिशत मात्रै जलेकाले उनी खतरामुक्त रहेको चिकित्सक बताउँछन्। सुस्मिताको रेखदेख गर्न साउदीबाट आमा धनमाया आएकी छिन्।

भद्र स्वभावकी सम्झना

जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना। उनी निकै भद्र थिइन्। अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन्। सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए। दुवै साथी जस्तै व्यवहार गर्थे। कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे। आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन्। उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो। उनी अहिले विदेश छन्।

त्यो कुरा सम्झनाले बुवा जादोलालसित खुलेरै भनिन्। बुवालाई मनाइन्। छोरीको प्रस्ताव उनले मन्जुर गरे। जे कुरा पनि मनमा नराखी भन्ने हुनाले जादोलालले दुवै छोरीलाई उत्तिकै माया गर्थे। भद्र भएकै कारण पासवानले उनी माथि आँखा लगाए। एकोहोरो प्रेम प्रस्ताव राखे। उमेर पनि मेल नखाने हुनाले सम्झनाले पासवानको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बुवा जादोलाल बताउँछन्। बुवा सरहको मानिसको हर्कतबारे सम्झनाले उपचारकै क्रममा बुवालाई सबै भनेकी थिइन्।

पासवानको उमेर ५० वर्ष पुगेको छ। यति हर्कत गर्दा पनि सम्झनाले पासवानलाई कहिल्यै नराम्रो व्यवहार गरेकी थिइनन्। ‘उनी सधैं ठूलो मान्छे भनेर उनको कदर गर्थिन्,’ सानी आमा पर्मशिला भन्छिन्, ‘सम्मान र कदर गर्दा यस्तो नियति भोग्नुपर्‍यो।’ पासवानको एकोहोरो मायालाई सम्झनाले अस्वीकार गरेपछि एसिड हान्नेसम्म काम गरे र मृत्यु बरणमा पुर्‍याए।

From Kantipur Daily

कमेन्ट गर्नुहोस्

error: Content is protected !!