२० वर्षे पुराना सवारी साधनहरु चल्न दिने प्रस्ताव

काठमाडौं, असोज ८ । काठमाडौं उपत्यकामा रहेका २० पुराना सवारी साधनहरुले प्रदूषण र दुर्घटना बढाएको भन्दै करिब अढार्इ वर्षअघि आफैंले लगाएको प्रतिबन्ध उल्ट्याउने गरी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ।

काठमाडौं र पोखरा बाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पुर्‍याएको छ। मन्त्रालय स्रोतका अनुसार गाडी चलाउन सक्ने अवस्था हेरेर काठमाडौं उपत्यका र पोखराबाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी चलाउन दिने प्रस्ताव गरिएको छ।

काठमाडौं र पोखरा बाहेकका क्षेत्रमा २० वर्षे सवारी चलाउन दिने सम्बन्धमा ‘भेइकल फिटनेस’ र ‘रोड वर्दिनेस’को आधारमा सवारी परीक्षण गर्ने र परीक्षणबाट उपयुक्त देखिएका सवारी चलाउन दिने प्रस्ताव मन्त्रालयले गरेको छ। लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने आधारमा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

काठमाडौं र पोखराको हकमा भने ‘प्रदूषण परीक्षण नगरी २० वर्ष कटेका सवारी प्रतिबन्ध लगाउने’ हालको व्यवस्थालाई भने निरन्तरता दिने प्रस्तावमा उल्लेख छ।

यातायात व्यवस्था विभागले गत १ चैतदेखि २० वर्ष पुराना सवारीलाई मुलुकभर चलाउन प्रतिबन्ध लगाएको थियो । यसअघि विभागले फागुन २०७३ देखि नै काठमाडौं उपत्यकामा यस्ता सवारी सञ्चालनमा रोक लगाएको थियो ।

चैत २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले २० वर्षे सवारी सञ्चालन रोक्ने निर्णय गरेका थिए । यसअघि मन्त्रालयले २० वर्षे सवारी चलाउने सम्बन्धमा अध्ययन समिति नै गठन गरेको थियो । नेपाललाइभबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!