सोमबार हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रजात्रा भव्यरुपमा मनाइँदै

काठमाडौं, असोज ८ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी सोमबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

यसअघि भाद्रशुक्ल द्वितीयाका दिन तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको काटी उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । इन्द्रजात्राको अवसरमा सोमबार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखेनाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । आजको दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!