आत्मरक्षा तालिमबारे सर्वत्र चासो, तालिम सफल बनाउन सरोकारवालाबीच छलफल

धनगढी, असोज ८ । महिलाहरुलाई आत्म रक्षा सम्बन्धी सीप सिकाउने बिषयमा आईतबार कैलालीको धनगढीमा सरोकारवालाबीच छलफल भएको छ । धनगढी उप-महानगरपालिकाले आयोजना गरेको बैठकमा कैलालीमा क्रियाशिल गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो ।

तालिमलाई कसरी सफल बनाउने र कुन संस्थाले कसरी समन्वय गर्न सक्छ भन्ने बिषयमा छलफल भएको धनगढी उप-महानगरपालिका उप-प्रमुख सुशिला मिश्र भट्टले बताईन् । उनले भनिन् ‘यो तालिमलाई उप-महानगरपालिकाले महत्वका साथ लिएको छ ।’

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले प्रदेश-७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो । असोज २० गतेबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गरेर २ हजार भन्दाबढी किशोरी तथा महिलालाई सीप प्रदान गरिने राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद् र क्रियाशिल महिला पत्रकारको संयुक्त समन्वयमा एक हप्तासम्म शिविर सञ्चालन गरिने जनाइएको छ । धनगढीको रङ्गशालामा हुने उक्त शिविरले महिलामा आत्मरक्षा सीप विकासको साथै आत्मबल बढाउने राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए ।

पछिल्लो समय कैलाली, कञ्चनपुरमा महिलाको बलात्कारपछि हत्या गर्नेक्रम पनि बढेको छ । असारदेखि हालसम्म कञ्चनपुरको निर्मला पन्त, कविता बिष्ट र कैलालीको माया विक गरी तीन जनाको बलात्कारपछि हत्या भएको छ । बलात्कारमात्रै गरिएको घटना पनि दिनानुदिन सार्वजनिक भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!