पाकिस्तानमाथि भारतको ऐतिहासिक जित, रोहित र शिखरको शतक !

काठमाडौं, असोज ८ । यूएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ । उसले चीरप्रतिद्वन्द्वी पाकिस्तानमाथि ९ विकेटको शानदार जित निकलेको हो । यो एक दिवसीय क्रिकेटमा विकेटको हिसाबले पाकिस्तानमाथि भारतको अहिलेसम्मकै सबैभन्दा फराकिलो जित हो ।

सेमिफाइनलमा पाकिस्तानलाई हराएसंगै भारत फाइनलमा पुग्न सफल भएको छ । फाइनल खेल शुक्रबार हुनेछ, त्यसअघि भारतले अफगानिस्तानसँग मंगलबार खेल्दै छ । पाकिस्तानले प्रस्तुत गरेको २३८ रनको लक्ष्य भारतले मात्रै एक विकेटको क्षतिमा ३९ ओभर तीन बलमा भेट्टायो ।

भारतका लागि रोहित शर्मा र शिखर धवनले शतकीय पारी खेले । शर्माले सात चौका र चार छक्काको सहयोगमा नटआउट १११ तथा धवनले १६ चौका र दुई छक्काको सहयोगमा ११४ रन बनाए । रोहित शर्माले एक दिवसीय क्रिकेटमा सात हजार रन पूरा गरेका छन् ।

 

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि रोयब मलिकले ७८ र सर्फराज अहमदले ४४ रनको योगदान दिए । भारतका जसप्रित बुमराह, युजवेन्द्र चहल र कुलदीप यादवले समान २-२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!